Feb 10, 2026
चितवनका महिला उद्यमी र स्थानीय उत्पादन प्रवर्द्धनका लागि चितवन कोसेली घर पुन सञ्चालन हुने

२७ माघ, भरतपुर

चितवन उद्योग वाणिज्य संघको परिसरमा चितवन जिल्लाका महिला उद्यमीहरू तथा चितवन विशेष उत्पादनहरूको निशुल्क रुपमा प्रवर्द्धन बजारीकरणका गर्ने उद्देश्यले चितवन कोसेली घर सञ्चालनमा ल्याइने भएको छ । चितवन उद्योग वाणिज्य संघ र उद्योग तथा वाणिज्य कार्यालयको आपसी समन्वयमा चितवन कोसेली घर आगामी फागुन १ गते देखि सञ्चालन हुने भएको छ ।  

चितवन उद्योग वाणिज्य संघको परिसरभित्र सञ्चालन गरिने कोसेली घरमा चितवन जिल्लाका महिला उद्यमीहरू तथा स्थानीय उत्पादकहरूद्वारा उत्पादित वस्तुहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछ । यसले स्थानीय उत्पादनको बजार विस्तार गर्नुका साथै उद्यमीहरूको आयआर्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कोसेली घरमा प्रदर्शनीका लागि आवश्यक वस्तु संकलन तथा उद्यमीहरूसँग सम्पर्क गर्ने कार्यमा उद्योग तथा वाणिज्य कार्यालय, चितवनले समन्वयकारी भूमिका निर्वाह गर्नेछ । साथै, कोसेली घर सञ्चालनका लागि उद्योग तथा वाणिज्य कार्यालयबाट १ जना र चितवन उद्योग वाणिज्य संघबाट १ जना गरी दुई जना फोकल पर्सन रहने समझदारीमा उल्लेख छ ।

स्थानीय उत्पादनमार्फत चितवनको छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यसहित महिला उद्यमीहरूलाई घरेलु तथा लघु उद्यममार्फत उत्पादन गर्न प्रेरित गर्न आवश्यक सीप विकास, तालिम तथा प्रशिक्षण कार्यक्रमहरू दुवै संस्थाको सहकार्यमा सञ्चालन गर्ने यसबाट स्थानीय स्तरमा उत्पादित वस्तुहरूलाई सहज रूपमा बजारमा पुर्याई उद्यमीहरूको जीविकोपार्जनमा सकारात्मक प्रभाव पार्ने लक्ष्यका साथ चितवन कोसेली घर सञ्चालनमा आउन लागेको हो ।

कोसेली घरलाई नाफामूलक नभइ  प्रवर्धनमूखी केन्द्रका रूपमा सञ्चालन गर्ने सम्बन्धी दुवै संस्था विच समझादी भएको छ । चितवनका उत्पादनहरुलाई चितवन लगायत देशका विभिन्न स्थानमा आयोजना हुने प्रवद्र्धनात्मक कार्यक्रमहरूमा कोसेली घरका सामग्रीसहित प्रदर्शनीमा सहभागिता गराउन दुवै संस्थाहरुले समन्वयत्मक भूमिका निर्वाह गर्ने सम्झौतामा उल्लेख छ ।

उक्त सम्झौता पत्रमा चितवन उद्योग वाणिज्य संघको तर्फबाट संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले हस्ताक्षर गर्नुभएको थियो भने उद्योग तथा वाणिज्य कार्यालय चितवनको तर्फबाट कार्यालय प्रमुख विनोद पौडेलले हस्ताक्षर गर्नुभएको थियो । सम्झौता हस्ताक्षर कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक निलबहादुर के.सी, उद्योग तथा वाणिज्य कार्यालय चितवनका अधिकृत कृष्णकुमारी श्रेष्ठको सहभागीता रहेको थियो ।

चितवन उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले चितवन जिल्लाका महिला उद्यमीहरू तथा चितवन विशेष उत्पादनहरूलाई प्रवद्र्धन र बजारीकरणका लागि चितवन उद्योग वाणिज्य संघको परिसरमा यही फागुन १ गतेबाट सञ्चालनहुने कोसेली घरमा ल्याउन उद्यमीहरुलाई आग्रह गर्नुभएको थियो । २०७६ सालमा स्थापित उक्त कोसेली घरलाई थप परिस्कृत र  प्रवर्धनमूखि बनाउँदै ल्याउन लागिएको हो ।

 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by