मितिः२०६३/७/२१
नेपाल र भारत बीचको व्यापारमा परेका असर एवं नेपाल-भारत व्यापार सन्धि (Treaty of Trade) नविकरण सम्बन्धमा विस्तृत छलफल गर्न नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र भारतीय उद्योग महासंघ (CII) बीच गठित संयुक्त आर्थिक परिषद् (FNCCI-CII Joint Economic Council) को बैठक भोली नयाँ दिल्लीमा बस्दैछ ।
उक्त बैठकमा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघका प्रथम उपाध्यक्ष एवं नेउवामहासंघ/सीआईआई संयुक्त आर्थिक परिषद्का संयोजक दिवाकर गोल्छाको नेतृत्वमा महासंघको सात सदस्यीय प्रतिनिधिमण्डल आज त्यस तर्फ प्रस्थान गर्यो ।
उक्त प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा महासंघको सार्क तथा विमस्टेक समितिका सभापति कुमुद कुमार दुगड, महिला उद्यमी विकास फोरमकी सभापति शान्ति चड्डा, महासंघका प्रतिनिधि बद्री प्रसाद ओझा, वरिष्ठ परामर्शदाता डा. चिरन्जीवी नेपाल, वरिष्ठ विशेषज्ञ प्रियदर्शन शर्मा र कृषि उद्यम केन्द्रका कार्यकारी निर्देशक डा. देवभक्त शाक्य हुनुहुन्छ ।
स्मरणीय छ, सन् १९९६ मा दुई देश बीच व्यापार सन्धि गराउनमा महासंघको पहलमा उक्त परिषद्ले अहं भूमिका निर्वाह गरेको थियो र सो सन्धिले नेपालको व्यापार तथा लगानी बढाउन महत्वपूर्ण योगदान पुर्याई आएकोछ ।
अव यस पटक स्वतः नविकरण हुने उक्त सन्धिलाई महासंघले नेपालको निर्यात, लगानी, पर्यटन प्रबर्द्धन जस्ता क्षेत्रलाई अझ लाभदायक र प्रभावकारी बनाउनुका साथै नेपाली बस्तुको निर्यातमा देखा परेका विभिन्न समस्या हटाउन तथा अवैध व्यापार रोकथामका लागि पनि सरकारका साथै उक्त परिषद् मार्फत समेत पहल गरिरहेकोछ ।