- समयवद्ध रुपमा निर्णय कार्यान्वयन हुनेमा विश्वस्त -
मितिः२०६३/७/२२
देशमा एक दशक भन्दा बढी समयदेखि द्वन्द सिर्जना भई यसको समाधान हुन नसक्दा जनधन एवं भौतिक पूर्वाधारको ठूलो क्षति हुनुको साथै अशान्ति र असुरक्षा व्याप्त हुन पुगेको तथा मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उद्योग वाणिज्य लगायतका पेशा व्यवसाय तहस नहस हुन गएको अवस्थामा सफल जनआन्दोलन-२ पछि सत्तारुढ सात राजनीतिक दल र नेपाल कम्यूनिष्ट पार्टि (माओवादी) का शीर्षष्ठ नेताहरु वीच शान्तिपूर्ण रुपमा भएको लामो गृह कार्य एवं ठूलो कसरत पश्चात विभिन्न विषयमा निर्णय भई सो सम्बन्धी सहमतिमा हस्ताक्षर समेत भएकोमा नेपाल उद्योग वाणिज्य महासंघ सम्पूर्णा निजी क्षेत्रको तर्फबाट हार्दिक स्वागत गर्दछ । सो सहमतिलाई निर्णायक विन्दुमा पुर्याउने सात राजनीतिक दल, नेपाल कम्यूनिष्ट पार्टि (माओवादी) तथा यस कार्यका लागि प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग गर्ने र नैतिक, बौद्धिक तथा मानसिक उर्जा प्रदान गर्ने सम्पूर्ण पक्ष, मानव अधिकारवादी, पत्रकार जगत एव नागरिक समाज प्रति महासंघ हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछ ।
यसै क्रममा उक्त द्वन्दको प्रारम्भ देखिनै नेपाल उद्योग वाणिज्य महासंघले शान्तिपूर्ण वार्ताद्वारा द्वन्दको समाधान हुनु पर्नेमा जोड दिंदै अनेकन पहल, प्रयास र सो सम्बन्धमा विभिन्न दवावमूलक तथा सन्देशमूलक कार्यक्रमहरु समेत गर्दै आएको स्मरणयोग्य हुन आउंदछ । उक्त सहमति विश्वमै एक उदाहरणीय र राजनीतिक महत्वको हुन पुगेको छ । यसबाट नेपाल र नेपालीको छवि एवं द्वन्द समाधानको क्षमता विश्वमै महत्वपूर्ण रुपमा उजागर हुन पुगेको विश्वास महासंघले गरेको छ ।
सो सहमति नयाँ नेपालको निर्माण तथा नेपाल र नेपालीको भविष्य निर्धारण गरि विश्व सामू नेपाली जनताको सामाजिक आर्थिकस्तर माथि उठाई एक सम्पन्न राष्ट्र बनाउने कार्यमा कोसे ढुंगा सावित हुने अपेक्षा समेत गरिएको छ । यसका लागि गर्नुपर्ने काम धेरै भएकाले सम्बन्धित सवै पक्षले सहमतिमा निर्णय गरिएका विषयहरुलाई संयमता, इमान्दारिकता एवं जिम्मेवारपूर्वक समयवद्ध रुपमा कार्यान्वयन गर्नु भने अत्यन्त जरुरी छ ।
साथै उद्योग व्यापार व्यवसायको विकास विना कुनै पनि मुलुकको समग्र विकास हुन नसक्ने विश्वव्यापि मान्यता र यथार्थतालाई आत्मसात गरि नाजुक अवस्थामा पुगेको उद्योग व्यापार व्यवसायको विकासलाई त्रि्रता दिन दीगो र स्थायी शान्ति स्थापना सहित आवश्यक अनूकुल वातावरण सिर्जना गर्न आर्थिक एजेण्डालाई प्राथमिकता दिई अघि बढाउनु अति आवश्यक भएको पृष्ठभूमिमा सहमतिमा भएका निर्णयहरुको सफल कार्यान्वयनका लागि निजी क्षेत्रको तर्फबाट यस महासंघको सक्दो सहयोग रहनुको साथै सो कार्यमा निरन्तर संलग्नता रहने विश्वास समेत महासंघ व्यक्त गर्न चाहान्छ ।