मितिः२०६३/७/२६
नेपाल र जनवादी गणतन्त्र चीन वीच लगानी, व्यापार तथा आर्थिक सम्बन्ध वृद्धि गर्ने उद्देश्य सहित चीनको सिचुआन (Sichuan) को चीउचाइगो (Jiuzhaigou) पर्यटन क्षेत्र स्थित चीउचाइ ड्रिम इन्टरनेशनल एम्युजमेन्ट एण्ड शपिंग मल (Jiuzhai-Dream International Ammusement & Shopping Mall) मा नेपाली कक्ष (Nepali Pavilion) स्थापना गरी नेपाली हस्तकला वस्तुहरुको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र उक्त शपिंग मल (व्यवसायिक केन्द्र) वीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
चीनका लागि नेपाली कार्यवाहक राजदूत सुरेश प्रधानको उपस्थितिमा महासंघको तर्फबाट द्वितीय उपाध्यक्ष एवं नेपाल-चीन गैर सरकारी सहयोग मञ्च (Nepal-China Non Governmental Cooperation Forum) का संयोजक कुशकुमार जोशी र उक्त मलको तर्फबाट निर्देशक झाओ सिफेङ्ग (Zhao Xifeng) ले उक्त सहमति पत्रमा गत विहिबार सिचुवानमा हस्तारक्षर गर्नु भएको हो ।
महासंघका उपाध्यक्ष जोशीको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले सिचुवान (Sichuan) को भ्रमण गरी द्विपक्षीय आर्थिक सम्बन्ध तथा नेपाली हस्तकला वस्तुहरुको प्रवर्द्धन गर्ने सम्बन्धमा विस्तृत छलफल गरे पश्चात सो सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
यस अघि अखिल चीन उद्योग वाणिज्य महासंघ (All China Federation of Industry and Commerce) ले सो व्यवसायिक केन्द्रमा नेपाल र चीन बीचको एक व्यवसायिक मञ्च (Commercial Stage) स्थापना गर्ने सम्बन्धमा नेपाल-चीन गैरसरकारी सहयोग मञ्च मार्फत नेपाल उद्योग वाणिज्य महासंघमा प्रस्ताव पठाएको थियो ।
चीउचाइगोमा नेपाली हस्तकलामा वस्तुहरुको राम्रो माग रहेकोले त्यहां उक्त व्यवसायिक मञ्च स्थापना गरी संचालन गर्ने पहल स्वरुप महासंघको उक्त प्रतिनिधिमण्डलले कार्तिक २२ देखि २४ गतेसम्म सो प्रान्तको भ्रमण गरेको थियो ।
उक्त प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठ, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष उमेश लाल अमात्य, नेपाल हस्तकला उद्योग संघका अध्यक्ष पंच रत्न शाक्य, भक्तपुर उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष उत्तम बैद्य हुनुहुन्थ्यो ।
यसअघि महासंघका द्वितीय उपाध्यक्ष श्री जोशीले यूरोपियन यूनियन चेम्वर अफ कमर्स (European Union Chamber of Commerce in China) द्वारा चीनको सिचुवान प्रान्तको छेङ्गदुमा यही कार्तिक १९ देखि २१ गतेसम्म आयोजित एशिया इन्भेष्ट फोरम चाइना-२००६ (Asia-Invest Forum China 2006) मा सक्रियतापूर्वक भाग लिनु भयो ।
उक्त कार्यक्रममा यूरोपियन संघ अन्तरगतका राष्ट्रहरु र एशियाली राष्ट्रहरुका व्यवसायिक संस्थाहरु बीच खुल्ला व्यापार र लगानी प्रवर्द्धनका विषयमा पर्याप्त संवाद, अन्तरक्रिया तथा अनुभव आदानप्रदान भएबाट आगामी दिनमा उक्त मञ्चको कार्यजालोबाट यूरोप र एशिया बीच नयां व्यवसायिक अवसरहरुको खोजीमा पनि महत्वपूर्ण सहयोग पुग्नुका साथै नेपालीमा लगानी ल्याउन सकिने अपेक्षा गरिएको छ ।
सो अवसरमा उपाध्यक्ष जोशीले नेपालमा साना तथा मझौला उद्योग व्यवसायको अवस्था, अर्थतन्त्रमा यसको योगदान, महासंघमा संचालित परियोजनाहरु, महासंघ र नेपाल सरकारको सहकार्यमा संचालित इलम प्रशिक्षण केन्द्र आदि विषयहरुमा पर्याप्त छलफल गर्नु भएको थियो ।
युरोप तथा एशियाका साना तथा मझौला उद्योगहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने मुख्य लक्ष्य रहेको एशिया इन्भेष्ट फोरम चाइनालाई यूरोपियन आयोगको एशिया-इन्भेष्ट कार्यक्रमको सहयोग रहेको छ ।
उक्त सम्मेलनमा एशिया र यूरोपका ३७ राष्ट्रका उद्योग वाणिज्य महासंघहरु, व्यवसायिक संघहरु, सरकारी प्रतिनिधिहरु, यूरोपियन आयोग तथा एशिया इन्भेष्ट कार्यक्रमका उच्चपदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।