मितिः२०६३/८/१२
उद्योग व्यवसायको क्षेत्रमा मानव संशाधन विकासबाट नै यस क्षेत्रको उत्पादन, उत्पादकत्व र गुणस्तर वृद्धिका लागि प्रतिस्पर्धी क्षमता वृद्धि हुनेमा जोड दिंदै उद्योग व्यवसाय क्षेत्रमा कार्यरत व्यवस्थापक/कार्यकारिहरुको क्षमता र शीप विकासका कार्यहरु निरन्तर रुपमा गर्दै जानु पर्ने सम्बन्धित विज्ञहरुले औल्याएका छन् ।
अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा मानव संशाधन व्यवस्थापनका विषय र यस क्षेत्रका चुनौतिहरु सम्बन्धमा विभिन्न औद्योगिक व्यवसायिक प्रतिष्ठानमा कार्यरत व्यवस्थापकहरुको आज ललितपुरमा आयोजित मानव संशाधन व्यवस्थापक सम्मेलन (Human Resource Manager Conclave) का वक्ताहरुले सो कुरा औल्याएका हुन् ।
मानव संशाधन विकास मार्फत प्रतिस्पर्धी क्षमता वृद्धि (Enhancing Competitiveness through Human Resource Development) प्रमुख विषय रहेको उक्त कार्यक्रमको शुभारम्भ गर्नु हुंदै नेउवामहासंघ-रोजगारदाता परिषद्का निमित्त सभापति एवं पदेन उपाध्यक्ष (Officiating Chairman of the FNCCI-Employers' Council and Ex-officio Vice President) रविन्द्र श्रेष्ठले उद्योग व्यवसाय क्षेत्रमा असल औद्योगिक सम्बन्ध भएमा मात्र उद्योग व्यवसायको प्रतिस्पर्धी क्षमता वृद्धि हुने र यसबाट समग्र अर्थतन्त्रको विकासमा मद्दत पुग्ने उल्लेख गर्नु हुंदै यसका लागि व्यवस्थापकहरुको कार्य क्षमता, शीप र निपूणता अत्यन्त महत्वपूर्ण हुने धारणा व्यक्त गर्नु भयो ।
साथै उहाँले नयाँ नयाँ ट्रेड युनियनहरु देखा परिरहेको वर्तमान परिवेशमा व्यवस्थापकहरु असल औद्योगिक सम्बन्ध कायम गर्न गहनतम भूमिका निर्वाह गर्न सक्षम हुनु पर्ने उल्लेख गर्नु हुंदै महासंघले अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा मानव संशाधन विकासलाई जोड दिई आएको बताउनु भयो ।
उद्योग प्रतिष्ठानमा कार्य मैत्री वातावरण (Working Friendly Environment) कायम गरि शान्तिपूर्ण वातावरणका साथ प्रतिस्पर्धी क्षमता वृद्धिका लागि मानव साधन विकासका कार्यक्रमहरुलाई महासंघले निरन्तरता दिंदै जाने प्रतिवद्धता समेत उहांले व्यक्त गर्नु भयो ।
दक्षिण एशियाका लागि रोजगारदाता गतिविधि सम्बन्धी आइएलओको उपक्षेत्रीय कार्यालय (Employers' Activities for South Asia, ILO Sub Regional Office) नयां दिल्लीका वरिष्ठ विशेषज्ञ डा. राजेन मेहरोत्रा (Dr. Rajen Mehrotra) ले मानव संशाधन विकास मार्फ प्रतिस्पर्धी क्षमता अभिवृद्धिको विश्वव्यापी होडवाजी चलिरहेको वर्तमान अवस्थामा औद्योगिक व्यवसायिक सफलताका लागि व्यवस्थापक/कार्यकारिहरुको क्षमता विकास निरन्तर रुपमा गर्दै जानु पर्ने उल्लेख गर्नु हुँदै आईएलओले नेपालमा नेपाल उद्योग वाणिज्य महासंघसंग मिलेर मानव संशाधन र औद्योगिक सम्बन्ध विकास, उत्पादकत्व अभिवृद्धि लगायत विभिन्न कार्यक्रम संचालनमा सहयोग गर्दै आएको तथा यसलाई निरन्तरता दिइने बताउनु भयो ।
महासंघको मानव संशाधन विकास तथा सार्ब फोरम (HRD & SARB Forum) का सभापति प्रकाश गिरीले डब्लुटिओ (WTO), साफ्टा (SAFTA) र विमस्टेक (BIMSTEC) को वर्तमान परिवेशमा उद्योग व्यवसायको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि मानव संशाधन विकास अत्यन्त आवश्यक भएकोले यसका लागि महासंघले छुट्टै मञ्च र छुट्टै मानव संशाधन विकास केन्द्र (HRD Centre) स्थापना गरि सो कार्य गर्दै आएको उल्लेख गर्नु भयो ।
महासंघका का.मु. महानिर्देशक मेघनाथ न्यौपानेले आईएलओको सहयोगमा महासंघले असल औद्योगिक सम्बन्ध र मानव संशाधन विकास लगायत उत्पादकत्व अभिवृद्धि र संस्थागत सामाजिक दायित्व जस्ता विषयमा निरन्तर रुपमा कार्यक्रमहरु संचालन गरि आएको र त्यसको परिणाम सकारात्मक रहेको उल्लेख गर्नु भयो ।
विभिन्न औद्योगिक व्यवसायिक प्रतिष्ठानका करिब ५० जना व्यवस्थापकहरुको सहभागिता रहेको सो कार्यक्रममा क्रमशः डा. राजेन महरोत्राले परिवर्तित व्यवसायिक वातावरणमा मानव संशाधन तथा उद्योगको प्रतिस्पर्धी क्षमता विकास, श्री मल्लले प्रतिस्पर्धी क्षमता वृद्धिका लागि मानव संशाधन व्यवस्थापन प्रणालीमा विकास तथा सुदृढिकरण, ए.के. झाले नयां मानव संशाधन विकास प्रणालीको उदय र यो अपनाउन आई पर्ने चुनौति, डा. सतिश ओझाले मानव संशाधन व्यवस्थापन तथा औद्योगिक सम्बन्ध प्रवर्द्धनका विद्यमान चुनौतिहरु र सनत न्यौपानेले मानव संशाधन व्यवसायिकहरुका लागि बदलिंदो व्यवस्थापन विषयक छुट्टा छुट्टै कार्यपत्रहरु प्रस्तुत गर्नु भएको थियो ।