मितिः२०६३/८/२०
विकासका दृष्टिले पछाडी परेको कर्णाली अंचलको विकासका लागि निजी क्षेत्रका उद्योग वाणिज्य संघहरु, स्थानीय संघ/संस्था र नागरिक समाजले सो अंचलको आवश्यकता अनुरुपको विकास योजना निर्माण गरी अघि बढ्नु पर्ने धारणा व्यक्त गरिएको छ । जवसम्म स्थानीय तहबाट त्यहांको आवश्यकता पहिचान सहितको कार्यक्रम आउंदैन तवसम्म वाह्य रुपमा लगिएको कार्यक्रमबाट अंचलको विकास असम्भव भएको धारणा नेपाल उद्योग वाणिज्य महासंघका कर्णाली अंचल भित्रका सदस्य उद्योग वाणिज्य संघहरुको आज महासंघको सचिवालयमा सम्पन्न भेलामा व्यक्त गरिएको हो ।
कर्णाली अंचल भित्रका डोल्पा, हुम्ला, जुम्ला, कालिकोट र मुगु जिल्लाका उद्योग वाणिज्य संघहरुका अध्यक्ष/पदाधिकारीहरुको सहभागितामा सम्पन्न सो भेलामा सहभागीहरुले सरकारको वर्षोनी आउने वाषिर्क कार्यक्रममा कर्णाली अंचलले प्रमुख प्राथमिकता पाए पनि विकासको अवस्था आजसम्मपनि त्यतिकै रहेकोमा चिन्ता प्रकट गर्दै कर्णाली अंचलमा कार्यरत निजी क्षेत्रको क्षमता विकास गर्दै दीर्घकालिन योजना सहित अघि बढ्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।
सो अवसरमा सहभागीहरुले कर्णाली अंचलको विकासका लागि जतिसक्दो छिटो सडक यातायातको विकास गर्नुपर्ने, विकास कार्यक्रम स्थानीय जनताको माग र आवश्यकताको आधारमा तय गरिनु पर्ने, पर्यटन एवं ट्रेकिङस्थलको पहिचान गर्नुपर्ने, फलफूल तथा जडीबूटीको व्यवसायीकरण गर्नुपर्ने, खाद्यान्नमा परनिर्भर नभै आत्मनिर्भर वनाउने कार्यक्रम राज्यले ल्याउनु पर्ने, हवाई यातायातलाई सस्तो र र्सवशुलभ वनाउनु पर्ने, अधिकार सम्पन्न कर्णाली विकास कोष स्थापना गर्नुपर्ने, कर्णाली अंचलमा लगानी गर्नेहरुलाई विशेष सहुलियतको व्यवस्था हुनु पर्ने, सामूदायिक अवधारणा अनुसार पशुपालनको व्यवस्था हुनुपर्ने र यी सवै कार्यक्रमहरुमा निजी क्षेत्रको लगानी आकर्षा र लगानी सुरक्षाको सुनिश्चितता प्रदान गर्ने नीति राज्यले अख्तियार गर्नुपर्ने सुझाव सो अवसरमा दिइएको थियो ।
सो भेलालाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष चण्डिराज ढकालले कर्णाली अंचलको विकासको लागि महासंघले आफनो तर्फाट सरकार लगायत सम्बन्धित निकाय एवं महासंघ आफैले पनि विभिन्न तवरबाट प्रयास गरिरहेको जानकारी गराउनु भयो । अध्यक्ष ढकालले राज्यले पनि कर्णाली अंचलको विकासका लागि राम्रा कार्यक्रम ल्याएकोले ती कार्यक्रमहरुलाई आफनो क्षेत्रमा सफल रुपमा सम्पन्न गर्न उद्योग वाणिज्य संघहरुले साझेदारीको अवधारणा अनुरुप मिलेर काम गर्न सुझाव दिनु भयो ।
साथै अध्यक्ष ढकालले महासंघले अघि सारेको एक गाउं एक उत्पादन, इलम प्रशिक्षण केन्द्रको संचालन, महिला शसक्तिकरण, घरेलु तथा लघु उद्यम कार्यक्रम, स्थानीय आर्थिक विकासका कार्यक्रमलाई कसरी आफनो अंचल तथा जिल्लामा लगी त्यसबाट अधिकतम लाभ लिन सकिन्छ त्यस तर्फसोच्न आग्रह पनि गर्नु भयो ।
महासंघका निवर्तमान अध्यक्ष विनोद बहादुर श्रेष्ठले कर्णाली अंचलको विकासमा सरोकारवाला र निजी क्षेत्र बीच हातेमालो गरी अघि बढ्नु पर्ने र निजी क्षेत्रले आफैले योजनाहरु छनौट गरी र्सार्वजनिक निजी साझेदारीको आधारमा पूर्ण प्रतिवद्धताका साथ काम गर्ने विश्वास दिलाउनु पर्ने धारणा राख्नु भयो ।
महासंघका द्वितीय उपाध्यक्ष कुशकुमार जोशी र तृतीय उपाध्यक्ष आजाद श्रेष्ठले भौगोलिक विकटता, पूर्वाधारको अभाव एवं आन्तरिक द्वन्द आदि विभिन्न कारणबाट विकासमा पछाडी परेको कर्णाली अंचलको विकासका लागि दीर्घकालिन आर्थिक प्याकेजका कार्यक्रम आउनुपर्ने र सो क्षेत्रमा लगानी गर्नेलाई निश्चित समयसम्म आयकर छुट दिने जस्ता प्रभावकारी नीतिहरु राज्यले घोषणा गर्नुपर्ने सुझाव दिनु भयो ।
कर्णाली अंचलका वुद्धिजीवी डा. कलबहादुर रोकायाले कर्णाली अंचलको आर्थिक र सामाजिक विकास वारे कार्यपत्र प्रस्तुत गर्नु भएको र महासंघको कर्णाली अंचल प्रतिनिधि लंकमान रोकाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा महासंघको कृषि उद्यम केन्द्रका सभापति कृष्ण प्रसाद ताम्राकार, घरेलु तथा लघु उद्यम समितिका सभापति डी.वी वस्नेत, कृषि उद्यम केन्द्रका कार्यकारि निर्देशक डा. देवभक्त शाक्य, महासंघका वरिष्ठ परामर्शदाता गोविन्द देव पाण्डेले कर्णाली अंचलको विकासका सम्बन्धमा आ-आफनो धारणा राख्नु भएको थियो ।