मितिः२०६३/८/२४
गोरखा जिल्लाको उत्तरी क्षेत्रमा पाइने मुल्यवान जडिबुटी र माध्यभागमा पाइने सुन्तलाको व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले गोरखामा मंसिर २३ गते आयोजित सुन्तला तथा जडिबुटी महोत्सव भव्यतापूर्वक सम्पन्न भयो ।
गोरखा उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति गोरखा र पृथ्वीनारायण नगरपालिकाको संयुक्त तत्वावधानमा आयोजित सो महोत्सवको उदघाटन गर्नुहुंदै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका द्वितीय उपाध्यक्ष कुशकुमार जोशीले सुन्तला तथा जडिवुटी महोत्सवले गोरखा जिल्लामा उत्पादित सुन्तला तथा जडिबुटीको व्यवसायिकरण गर्न महत्वपूर्ण सघाउ पुग्ने बताउनु भयो ।
प्रमुख अतिथि जोशीले गोरखामा उत्पादित सुन्तलालाई आकर्षक प्याकेज गरेर विक्रि गरेको खण्डमा यसको बजार प्रवर्द्धनमा सजिलो हुने महासंघले अघि सारेको "एक गाउं एक उत्पादन" कार्यक्रममा सुन्तला पनि परेको र महासंघलेनै लागू गरेको इलम प्रशिक्षण कार्यक्रम गण्डकी अंचल क्षेत्रमा पनि स्थापना गरिने बताउनु भयो । जनआन्दोलन-२ ले ल्याएको लोकतन्त्रले हाल मुलुक शान्ति स्थापना तर्फगैरहेको उल्लेख गर्दै उहांले अव निजी क्षेत्र आर्थिक विकास तर्फकेन्द्रीत भएको स्पष्ट पार्नु भयो ।
गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी कैलासनाथ खरेलले जिल्लामा पहिलोपटक आयोजित सुन्तला तथा जडिबुटी महोत्सवले जिल्लामा उत्पादित जडिबुटी तथा सुन्तला खेतीलाई आन्तरिक तथा बाह्य वजारमा प्रचार प्रसारका साथै व्यवसायिक प्रवर्द्धन गर्न सहयोग पुग्नुका साथै गोरखावासीको जीवनस्तर सुधारमा पनि महत्वपूर्ण सघाउ पुग्ने बताउनु भयो ।
स्थानिय विकास अधिकारी उत्तम प्रसाद नागीलाले जैविक विविधताले भरिएको गोरखा जिल्लामा उत्पादित जडिबुटी तथा सुन्तलाको प्रवर्द्धनमा महोत्सव कोशेढुंगा हुने बताउनु भयो ।
कृषि विकास अधिकृत बाबुराम रोकाले जिल्लामा उत्पादन हुने कृषि उपजको जानकारी दिनुहुंदै गोरखा जिल्लामा २५ वटा गा.वि.स. र १ नगरपालिकामा सुन्तला खेती हुने गरेको र जिल्ला कृषि विकास कार्यालयबाट २०४७ सालदेखि पकेट क्षेत्रको विकास गर्दै आइरहेको र हाल ७ वटा पकेट क्षेत्रको विस्तार भैसकेको बताउनुहुंदै जिल्लामा वाषिर्क रुपमा ५ हजार टन सुन्तला उत्पादन हुने गरेको जानकारी गराउनु भयो ।
संघका अध्यक्ष बसन्तराज श्रेष्ठको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा निमित्त वन अधिकृत दुःखहरण शा, महोत्सवका संयोजक एवं संघका द्वितीय उपाध्यक्ष भगतवावु जोशी, महासचिव रामबाबु जोशी लगायतका वक्ताले सुन्तला तथा जडिबुटीको प्रवर्द्धन गर्न आवश्यक जडिबुटी संकलन केन्द्र, कृषि सडक, सिंचाई र शीत भण्डारको आवश्यकता जोड दिनु भयो ।