नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालको सभापतित्वमा महासंघको सचिवालयमा आज बसेको शोक सभाले महासंघ स्थापनाकालमा गठित एडहक कमिटिका सदस्य एवं महासंघका भूतपूर्व उपाध्यक्ष, भूतपूर्व अवैतनिक महासचिव एवं नेपाल चेम्बर अफ कमर्शका संस्थापक तथा भूतपूर्व अध्यक्ष श्री राज बहादुर चिपालुको निधन भएकोमा नेपालको तमाम निजी क्षेत्रलाई मर्माहत एवं स्तब्ध तुल्याएको उल्लेख गर्दै गहिरो दुःख व्यक्त गर्नुका साथै शोक प्रस्ताव पारित गर्यो ।
सो सभाले स्वर्गिय आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै एक मिनेट मौन धारण समेत गर्यो ।
सभाले स्वर्गिय चिपालुले महासंघलाई पुर्याउनु भएको योगदानलाई निरन्तर कदर र सम्मान सहित सम्भिm रहने उल्लेख गरेको छ ।
वि.सं. १९७० असार १८ गते जन्मनु भएका स्वर्गिय चिपालुको हृदयघातका कारण ९४ वर्षो उमेरमा ललितपुरको विएण्डवी अस्पतालमा गत आइतबार (मंसीर २४ गते) निधन भएको हो । नेपालमा चेम्बर अभियान सुत्रपातका प्रमुख हस्ति श्री चिपालुले २०२२ सालमा प्रथम नेपाल वाणिज्य तथा औद्योगिक सम्मेलन आयोजना गरि नेपाल उद्योग वाणिज्य महासंघ तत्कालिन (संघ) स्थापना गर्ने कार्यमा अग्रणी भूमिका निर्वाह गर्नु भएको थियो । उद्योग वाणिज्य लगायत आर्थिक क्षेत्रमा मात्र नभई सामाजिक सेवाको क्षेत्रमा समेत उहाँको अतुलनीय योगदान रहेको छ ।
महासंघमा वि.सं. २०२२ देखि वि.सं. २०४३ सम्म विभिन्न ओहदामा रही जिल्ला तथा वस्तुगत संघहरुको स्थापना र विकासका साथै महासंघलाई आजको स्थितिमा पुर्याई राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमै सशक्त रुपमा अघि बढाउन उहांले उल्लेखनीय योगदान गर्नु भएको थियो ।
महासंघमा वि.सं. २०२८ देखि २०३० सम्म उपाध्यक्ष, वि.सं. २०३० देखि २०३५ सम्म अवैतनिक महासचिव र वि.सं. २०३५ देखि वि. सं. २०४३ सम्म कार्यकारिणी समितिका सदस्य (विशेष आमन्त्रित सहित) भई राष्ट्रिय अर्थतन्त्रमा महासंघको भूमिकालाई स्थापित गर्न उहांले पुर्याउनु भएको योगदानलाई नेपाली निजी क्षेत्रले उच्च मूल्यांकन गरेको र उहांको निधनबाट महासंघ लगायत नेपालको चेम्बर अभियानमै अपुरणीय क्षति पुग्न गएको छ ।
स्वर्गिय चिपालु एक वरिष्ठ उद्यमी व्यवसायी मात्र नभई अत्यन्त इमान्दार, विवेकशिल, कर्तव्यनिष्ठ र स्पष्ट वक्ता हुनुका साथै उहां प्रशासन एवं कानूनका समेत ज्ञाता हुन हुन्थ्यो । उहांको निधनबाट राष्ट्रले एक होनाहार उद्योगी व्यवसायी गुमाउनु परेको छ । यस दुःखद घडीमा उक्त शोक सभाले महासंघ परिवार तथा सम्पर्ूण्ा निजी क्षेत्रको तर्फबाट स्वर्गिय चिपालुको शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिका लागि श्री परमेश्वरसंग प्रार्थना गर्यो ।
शोक सभामा महासंघका वर्तमान एवं पूर्व पदाधिकारीहरु, सल्लाहकार समिति र कार्यकारिणी समितिका सदस्यहरु तथा महासंघका कर्मचारीहरुको सहभागिता थियो ।