नेपालमा नेपाली जनताले राजनीतिक क्षेत्रमा अभूतपूर्व परिवर्तन गरे जस्तै आर्थिक क्षेत्रमा समेत तीब्रतर गतिमा परिवर्तन र विकास गरी उद्योग व्यवसायको व्यापक विस्तार गर्दै रोजगारीका अवसर बढाउनु पर्ने, हालका वर्षमा बढ्दै गएको रोजगारीको संकुचनलाई आर्थिक क्रियाकलाप विस्तारको अनुकूल वातावरण बनाई विस्तार गर्नु पर्ने, उद्योग प्रतिष्ठानमा व्यवस्थापनले कामै गराउन नसक्ने वातावरण रहंदा उत्पादन, उत्पादकत्व, रोजगारी एवं उत्पादन र सेवाको प्रतिस्पर्धी क्षमता बढ्ने सम्भावना नभएकोले यसबाट राष्ट्रिय आर्थिक सामाजिक हित नहुने कुरामा रोजगारदाताहरुले जोड दिएका छन् ।
नेपालमा शान्ति निर्माणका लागि ट्रेड यूनियनहरुको प्रतिबद्धता सहित चारवटै ट्रेड यूनियन महासंघहरु बीच हालै भएको सहमति र घोषणाको स्वागत गर्दै सो घोषणा पत्र र विद्यमान श्रम सम्बन्धका वारेमा छलफल गर्न नेपाल उद्योग वाणिज्य महासंघद्वारा रोजगारदाता परिषद् र ती चारवटै ट्रेड यूनियनको सहभागितामा हिजो महासंघको सचिवालयमा आयोजित बैठकमा रोजगारदाताहरुको तर्फबाट सो धारणा व्यक्त गरिएको हो ।
उक्त अवसरमा भएको छलफलमा नेउवामहासंघ-रोजगारदाता परिषद् र चारैवटा ट्रेड यूनियन बीच विस्तृत छलफल गरी दीगो र स्थायी शान्ति स्थापनाका साथै अनुकूल औद्योगिक व्यवसायिक वातावरण सृजना गरी उत्पादन तथा उत्पादकत्वका साथै रोजगारी अभिबृद्धि गर्न साझा सहमति तयार गर्ने एवं रोजगारदाता र चारैवटा ट्रेड यूनियन बीचको सम्वादलाई निरन्तरता दिने तथा केन्द्रीय स्तरमा झैं क्षेत्रीय र इकाई स्तरमा देखा पर्ने श्रम समस्या समाधानका लागि समेत संयन्त्र निर्माण गर्ने सम्बन्धमा छलफल भयो ।
रोजगारदाता र श्रमिक एक सिक्काका दुई पाटा भएकोले दुवै पक्ष बीच सुमधुर सम्बन्ध हुनु पर्ने, औद्योगिक विकासलाई अघि बढाउन दीर्घकालिन औद्योगिक शान्ति हुनु पर्ने, रोजगारीमा महिला सहभागिता बढाउंदै जानु पर्ने, औद्योगिक शान्ति भएमा वार्षिक १० लाख पर्यटक ल्याउन सकिने हुंदा होटल उद्योगको सुचारु सञ्चालनको वातावरण सृजना गर्नु पर्ने र सर्भिस चार्जलाई गम्भीरतापूर्वक लिई शीघ्र टुङ्गोमा पुर्याउनु पर्ने धारणा समेत सो अवसरमा व्यक्त गरिएको थियो ।
नेउवामहासंघ-रोजगारदाता परिषद् तथा नेपाल ट्रेड यूनियन कांग्रेस, नेपाल ट्रेड यूनियन महासंघ, नेपाल प्रजातान्त्रिक ट्रेड यूनियन महासंघ र अखिल नेपाल ट्रेड यूनियन महासंघका पदाधिकारीहरुको सहभागिता रहेको सो कार्यक्रममा ट्रेड यूनियनहरुका तर्फबाट रोजगारी सृजनाका साथ साथै रोजगारीको प्रत्याभूति हुनु पर्ने, आर्थिक सामाजिक विकास दीगो र संस्थागत रुपमा हुनु पर्ने, राज्यको अर्थ व्यवस्थाको पुनरसंरचनामा निजी क्षेत्रको भूमिका हुनु पर्ने, रोजगारी अभिबृद्धि फलदायी हुनु पर्ने, श्रमलाई सम्मानित र मर्यादित बनाउनुको साथै उत्पादकत्व अभिबृद्धि हुने बनाउनु पर्ने, श्रम समस्यालाई राजनीतिक रुपले हेरिनु नहने, संक्रमणकालमा लागू गर्न सकिने गरी रोजगारदाता संगठन र ट्रेड यूनियनहरु बीच साझा सहमति बनाउनु पर्ने र राष्ट्रियस्तरमा भएको सहमतिलाई प्रतिष्ठानस्तरमा सहजै कार्यान्वयन गर्ने वातावरण हुनुपर्ने धारणा व्यक्त गरियो ।
नेउवामहासंघका अध्यक्ष चण्डिराज ढकालले सो अवसरमा चारैवटा ट्रेड यूनियनहरु बीच हालै भएको १० बुंदे सहमतिले औद्योगिक शान्ति स्थापना सहित सामाजिक आर्थिक विकासमा ठूलो महत्व राख्ने उल्लेख गर्नु हुंदै राजनीतिक बिषय लगभग टुङ्गो लागेको अवस्थामा रोजगारदाता र ट्रेड यूनियनहरु बीच आर्थिक-विकास एवं रोजगारी अभिबृद्धिका साथै अनुकूल औद्योगिक वातावरण कायम गरी अघि बढ्न नीतिगत बिषयमा सहमति कायम गर्नु फलदायी हुने बताउनु भयो ।
महासंघका निवर्तमान अध्यक्ष एवं श्रम सम्बन्धी कार्यदलका संयोजक बिनोद बहादुर श्रेष्ठले वर्तमान अवस्थामा श्रम सम्बन्ध सुधार र रोजगारदाता एवं श्रमिक बीच आपसी सम्बन्ध विस्तारका लागि समझदारी हुनु पर्ने, क्षेत्रगत एवं इकाई स्तरमा समेत श्रम सम्बन्ध सुधारका संयन्त्र निर्माण हुनु पर्ने, प्रतिष्ठान स्तरमा रोजगारदाता र श्रमिक बीचको सम्बन्ध सुमधुर भएमा राष्ट्रिय स्तरमै सुमधुर सम्बन्ध हुने हुंदा यस तर्फ गम्भीरतापूर्वक विचार गर्नु पर्ने उल्लेख गर्नु भयो ।
महासंघका भूतपूर्व अध्यक्ष पद्म ज्योतिले विश्वलाई चकित पार्ने गरी भएको राजनीतिक परिवर्तनसंगै आर्थिक क्षेत्रमा समेत समयानुकूल परिवर्तन र विकास गर्नु पर्ने र अनुकूल औद्योगिक वातावरण सृजना गरी उत्पादकत्व एवं रोजगारी अभिबृद्धि गर्दै जानु पर्ने धारणा व्यक्त गर्नु भयो ।