काठमाडौं उपत्यकासंगै रहेर पनि आर्थिक सामाजिक विकासमा काभ्रे जिल्लाले खासै गति लिन नसकेकाले विकासको क्रमलाई तीव्रता दिन पांचखालमा प्रस्तावित विशेष आर्थिक क्षेत्र (SEZ) शीघ्र निर्माण हुनुपर्ने, बनेपा स्थित सूचना प्रविधि पार्क (IT Park) शीघ्र संचालन हुनुपर्ने, व्यवसाय विकास तथा शीपमूलक कार्यक्रमहरु व्यापक रुपमा विस्तार गर्नुपर्ने, वसपार्क निर्माणका लागि सहयोगको पहल हुनुपर्ने कुरामा काभ्रे उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलले जोड दिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालसंग आज महासंघको सचिवालयमा भएको वैठकमा विभिन्न जिल्लाका उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमणको क्रममा महासंघमा आएको सो संघका अध्यक्ष लक्ष्मीलाल राजभण्डारीको नेतृत्वमा निवर्तमान एवं पूर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु सम्मिलित प्रतिनिमण्डलले सो कुरामा जोड दिएको हो ।
सो अवसरमा महासंघका अध्यक्ष ढकालले पंाचखालमा चिनियां सहयोगमा शीघ्र विशेष आर्थिक क्षेत्र निर्माण गर्नुका साथै चीनको तिव्वतसम्म आएको रेलमार्गलाई पांचखालसम्म जोड्न तथा काभ्रेको सूचना प्रविधि पार्कलाई सूचारु संचालनका लागि महासंघबाट निरन्तर पहल भई आएको उल्लेख गर्नु हुदै बस पार्क निर्माण लगायतका स्थानीय विकास निर्माण र आर्थिक सामाजिक विकासका कामहरु स्थानीय निकाय र नागरिक समाज समेतको सहभागिता तथा र्सार्वजनिक-निजी साझेदारीको आधारमा गर्न सकिने सुझाव दिनु भयो ।
साथै उहांले सदस्य संघहरुको संस्थागत विकास र सचिवालय सुदृढिकरणका लागि महासंघले सक्दो सहयोग गरि आएको तथा यसलाई निरन्तरता दिदै जाने उल्लेख गर्नु हुदै काभ्रे जिल्लामा आर्थिक विकासका प्रशस्त संभावना भएकोले ती संभावनालाई समेटी कार्यक्रमहरु संचालन गर्नुपर्ने र यसै क्रममा महासंघले अघि बढाएको एक गाउं एक उत्पादन, इलम प्रशिक्षण केन्द्र, लघु उद्यम, महिला उद्यम विकास, गाउं नगर साझेदारी कार्यक्रम समेत अत्यन्त उपयोगी हुने उल्लेख गर्नु भयो ।
महासंघका पदेन उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रविन्द्र श्रेष्ठ, घरेलु तथा लघु उद्यम समितिका सभापति डि.वि. वस्नेत एवं सहसभापति दुर्गा प्रसाद श्रेष्ठको समेत सो बैठकमा सहभागिता थियो ।