नेपाल उद्योग वाणिज्य महासंघद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीका सि.सं. १३ कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुसंग आज महासंघको सचिवालयमा "देशको आर्थिक-सामाजिक विकासमा निजी क्षेत्रको भूमिका र नेपाली सेनाको दायित्व" विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।
निजी क्षेत्र र नेपाली सेना बीच सम्बन्ध विस्तार, विकास निर्माण कार्यक्रममा साझेदारीको अवधारणा आदान प्रदान, अर्थतन्त्र लगायत उद्योग वाणिज्य क्षेत्र र आर्थिक-सामाजिक विकासमा निजी क्षेत्रको योगदानका विषयमा जानकारी दिने उद्देश्यले आयोजित सो कार्यक्रममा नेपाली सेनाका ७० जना अधिकृतहरुको सहभागिता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा महासंघका अध्यक्ष चण्डिराज ढकालले उद्योग, व्यापार, व्यवसाय लगायत विकास निर्माण कार्यक्रम सहित समग्र राष्ट्रिय आर्थिक विकासमा निजी क्षेत्रको दायित्व बढ्दै गएको र ती कार्यका लागि सरकारले मुख्य रुपमा सहयोगीको भूमिका निर्वाह गरी अनुकूल वातावरण एवं शान्ति सुरक्षाको प्रत्याभूति दिनु पर्ने हुंदा नेपाली सेनाको महत्वपूर्ण भूमिका रहने स्पष्ट पार्नु भयो ।
निजी क्षेत्र नेपाली सेनाको सहयोगमा राष्ट्रिय उद्योग व्यवसायको सुरक्षा लगायत विकास निर्माणका कार्यक्रम साझेदारीको अवधारणा अनुरुप अघि बढाउन तत्पर रहेको स्पष्ट पार्दै कतिपय स्थानमा साझेदारीको आधारमा विकास कार्यहरु भैरहेको पनि उहांले जानकारी गराउनु भयो ।
अध्यक्ष ढकालले मुलुक भित्र उद्योग व्यवसायको स्वतस्फूर्त विकासमा स्वदेशी उत्पादनहरुको उपभोग अति आवश्यक भएको तर्फध्यानाकर्षा गराउंदै सुरक्षा निकायमा स्वदेशी उत्पादनकै उपभोग गर्ने नीति ल्याउन महासंघले सरकारलाई जोड दिएको जानकारी गराउनु भयो । उहांले विकास निर्माणका हरेक कार्यक्रममा निजी क्षेत्र र नेपाली सेना बीचको सम्बन्ध सुमधुर बनाउन महासंघ तयार रहेको पनि विश्वास दिलाउनु भयो ।
कार्यक्रममा स्टाफ कलेज शिवपुरीका उपरथी सरद कुमार नेउपानेले नेपाली निजी क्षेत्रको सर्वोच्च संस्था महासंघ र नेपाली सेना बीच भएको यस प्रकारको अन्तरक्रिया कार्यक्रम अति महत्वपूर्ण रहेको बताउंदै यसले विकास निर्माणका कार्यक्रममा आगामी दिनमा हातेमालो गरी अघि बढ्न मद्दत मिल्ने बताउनु भयो ।
महासंघका द्वितीय उपाध्यक्ष कुशकुमार जोशीले उद्योग व्यवसाय क्षेत्रलाई सुरक्षाको प्रत्याभुति दिन नसकेसम्म राजनीतिक स्थायीत्वले मात्र मुलुक अगाडी बढ्न नसक्ने बताउनु भयो । उद्योग व्यवसायको सुरक्षाको लागि छुट्टै सुरक्षा फोर्स गठनको आवश्यकता भएको तर्फपनि महासंघले सरकारको ध्यानाकर्षण गराएको जानकारी गराउनु भयो ।
महासंघका तृतीय उपाध्यक्ष आजाद श्रेष्ठको उपस्थिति रहेको सो कार्यक्रममा महासंघका का.मु. महानिर्देशक मेघनाथ न्यौपानेले "महासंघको संगठनात्मक संरचना एवं गतिविधि" र वरिष्ठ परामर्शदाता डा. चिरन्जीवी नेपालले "मुलुकको आर्थिक, उद्योग व्यवसायका बारे निजी क्षेत्रको अवधारणा"का विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रममा सहभागी अधिकृतहरुले सुरक्षा, स्वदेशी वस्तुको प्रयोग, स्वदेशी उद्योधन्दाको विकास एवं विकास निर्माणका अन्य कार्यक्रमहरुमा नेपाली सेना र निजी क्षेत्र बीच हुन सक्ने साझेदारीका सम्बन्धमा आ-आफनो धारणा राख्नु भएको थियो ।