उद्योग वाणिज्य संघ नवलपरासी, नेपाल उद्योग वाणिज्य महासंघ, जिल्ला विकास समिति, नवलपरासी र रामग्राम नगरपालिकाको संयुक्त तत्वावधानमा आगामी फागुन १५ देखि १९ गतेसम्म आदर्श मा.वि.को प्राङगण रामग्राम परासीमा नवलपरासी महोत्सव-२०६३ तथा कृषि, पर्यटन, लघु उद्यम एवं औद्योगिक व्यापार प्रवर्द्धन मेला आयोजना गरिने भएको छ ।
एक गाउं एक उत्पादनको प्रवर्द्धन, राष्ट्रियस्तरका उत्पादनहरुको बजार पर््रवर्द्धन, कृषि, लघु उद्यम तथा घरेलु उद्योगहरुको बजार विस्तार, धार्मिक तथा पर्यटकिय स्थलहरुको प्रचार प्रसार, विभिन्न जातजाती भाषाभाषी बीच सांस्कृतिक तथा धार्मिक सद्भाव अभिवृद्धि, सामूहिक प्रतिवद्धता र सहकार्यको थालनी गर्ने उद्देश्यले आयोजना हुन लागेको सो महोत्सवको २ लाख दर्शकहरुले अवलोकन गर्ने र करिव १ करोड रुपिया बराबरको आर्थिक कारोवार हुने जानकारी हिजो आयोजित पत्रकार सम्मेलनमा गराइयो ।
उद्योग वाणिज्य संघ, नवलपरासीले महोत्सवका सम्बन्धमा जानकारी दिन महासंघको सचिवालयमा आयोजना गरेको सो पत्रकार सम्मेलनमा जिल्लाको आर्थिक, सामाजिक, पर्यटन, कृषि तथा धार्मिक क्षेत्रको विकास तथा विस्तारमा महोत्सव कोशेढुंगा सावित हुने बताइयो ।
पत्रकार सम्मेलनमा महासंघको कार्यकारिणी समितिका सदस्य एवं लुम्विनी अंचल प्रतिनिधि गुणनीधि तिवारीले आर्थिक गतिविधिलाई सशक्त पार्दै स्थानीय जनताको जीवनस्तर सुधारमा मेला महोत्सव प्रभावकारी हुने विश्वासका साथ महासंघले मेला महोत्सवको आयोजनमा विशेष जोड दिएको बताउंदै नवलपरासीमा पनि सोही विश्वास सहित महोत्सवको आयोजना गरेको जानकारी गराउनु भयो । उहांले महोत्सवलाई सफल पार्न सबैको सहयोगको खांचो औल्याउनु भयो ।
महासंघको सामाजिक सेवा समितिका सभापति लोक विक्रम थापाको समेत उपस्थिति रहेको पत्रकार सम्मेलनमा महोत्सवका वारे विस्तृत जानकारी दिंदै संघका अध्यक्ष बीरेन्द्र अग्रहरीले जिल्लामा पहिलो पटक आयोजना गरिन लागेको महोत्सवले जिल्लाको कृषि, उद्योग व्यवसाय र प्राकृतिक तथा धार्मिक सम्पदाहरुको विकासमा सहयोग पुर्याउनुको साथै जिल्लावासीको जीवनस्तर सुधारमा समेत सहयोगी रहने दावी गर्नु भयो ।
लोकदोहोरी प्रतियोगिता, विविध सांस्कृतिक झांकीहरुको प्रस्तुती, अन्तराष्ट्रिय, राष्ट्रिय तथा घरेलुस्तरका औद्योगिक उत्पादनहरुको प्रदर्शनी, कृषि उत्पादनहरु, हस्तकला बस्तुहरुको प्रदर्शनी, सूचना प्रविधि सम्बन्धी गतिविधिहरु, नयां वस्तु र प्रविधि वारे जानकारी, फुड फेस्टीवल, धार्मिक तथा औद्योगिक क्षेत्र अवलोकन र वाल उद्यान तथा रमाइलो मेला प्रदर्शनी महोत्सवको मुख्य आकर्षा रहने जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो ।
उद्योग वाणिज्य संघ बुटवल, लघु उद्यम विकास कार्यक्रम, रामग्राम जेसिज सह-आयोजक रहेको सो महोत्सवको प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ भने प्रायोजकहरुमा गोर्खा ब्रुअरी, लुम्विनी चिनी उद्योग प्रा.लि.र गंगादेवी चौधरी उद्योग ग्राम रहेका छन् । पत्रकार सम्मेलनमा संघका पदाधिकारी एवं कार्यकारि सदस्यहरुको उपस्थिति रहेको थियो ।