सरकार, सात राजनैतिक दल र नेकपा (माओवादी) बीच सम्पन्न शान्ति सम्झौता, अन्तरिम व्यवस्थापिका संसदको गठन र अन्तरिम संविधानको घोषणा जस्ता व्यवस्थाले वर्षौदेखिको असुरक्षा र अशान्तिमा कमी आई उद्योग व्यवसायको विकासमा सुनिश्चिता आउने विश्वास निजी क्षेत्रले गरेको थियो ।
यसैबीच विगत तीन हप्तादेखि विशेषगरी तर्राईका विभिन्न भागमा देखिएको अशान्तिका कारण त्यहांका उद्योग व्यवसाय बन्द भई सम्पूर्ण काम कारोवारनै रोकिन पुगेको छ भने यातायात सञ्चालन नहुंदा कच्चा पदार्थको आपूर्ति, उत्पादन तथा बिक्री वितरण पुरै ठप्प भएको कारण रोजगारीको समेत प्रश्न चिन्ह खडा भएको छ ।
एकातिर तर्राईमा व्याप्त अशान्ति र अर्कोतिर प्रत्येक दिनको लामो लोड सेडिङ्ग समेतको मारमा उद्योग व्यवसाय परेको छ भने कच्चा पदार्थको अभाव एवं यातायात सञ्चालन हुन नसक्दा माल सामान आपूर्तिमा समेत अवरोध श्रृजना भएको तर्फ यस महासंघको गम्भीर ध्यानाकर्षा भएको छ । अतः यस बिषम परिस्थितिलाई तत्काल वार्ताको माध्यमबाट समाधान गर्न महासंघ पुनः सरकार र सबै राजनैतिक दलहरुसंग अनुरोध गर्दछ ।
साथै हाल देखिएको असहज परिस्थितिलाई मध्यनजर राखी दैनिक उपभोग्य बस्तुको सरल र सहज उपलव्धताका लागि सबै उद्योगी/व्यवसायीहरुले आ-आफ्नो साथमा रहेका उपभोग्य बस्तुको आपूर्ति एवं बिक्री वितरण सरल एवं सहजताका साथ गर्न गराउन महासंघ सबैमा हार्दिक अनुरोध समेत गर्दछ ।