नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकाल जापानको बाह्य व्यापार संगठन (Japan External Trade Organisation – JETRO) को विशेष निमन्त्रणामा भारतको भ्रमणमा रहनु भएका जापानमा एक गाउं एक उत्पादनका जन्मदाता डा. मोरीहिको हिरामात्सु (Dr. Morihiko Hiramatsu) तथा जेट्रो जापानका अध्यक्ष ओसामु वातानावे (Osamu Watanabe) संग हुने वैठकमा नेपालमा "एक गाउं एक उत्पादन" कार्यक्रम विस्तारको सम्भाव्य सहयोगका विषयमा विस्तृत छलफल गर्न आज नयां दिल्ली तर्फप्रस्थान गर्नु भयो । अध्यक्ष ढकाल र डा. हिरामात्सु बीच भोली सो विषयमा छलफल हुने कार्यक्रम छ ।
भारत भ्रमणका क्रममा महासंघका अध्यक्ष ढकालले भोलीनै नयां दिल्लीमा आयोजना हुने एशिया व्यापार प्रवर्द्धन मंच (Asia Trade Promotion Forum) को क्षेत्रीय कार्यक्रममा भाग लिनु हुने छ ।
त्यसैगरी अध्यक्ष ढकालले भारतीय उद्योग महासंघ (CII) र जेट्रोद्वारा संयुक्त रुपमा फागुन ३ गते नयां दिल्लीमै आयोजना गरिने "एक गाउं एक उत्पादन" (One Village One Product) सम्बन्धी एक दिने सम्मेलनमा पनि भाग लिनु हुने कार्यक्रम छ ।
भारत भ्रमणका क्रममा उहांले भारतीय उद्योग महासंघका अध्यक्ष लगायतका पदाधिकारीहरुसंग आर्थिक तथा व्यापारिक क्षेत्रका समसामयिक विषयमा छलफल गर्नुहुने कार्यक्रम छ । अध्यक्ष ढकालका साथ महासंघको कृषि उद्यम केन्द्रका कार्यकारी निर्देशक पनि त्यस तर्फप्रस्थान गर्नु भएको छ ।