जलश्रोत राज्यमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसंग नेपाल उद्योग वाणिज्य महासंघका द्वितीय उपाध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज जलश्रोत मन्त्रालयमा भेटी उद्योग व्यवसाय सञ्चालनको अत्यन्त महत्वपूर्ण पूर्वाधार विद्युत शक्ति निरन्तर रुपमा आपूर्ति हुनु पर्नेमा केही महिना अघिदेखि नेपाल विद्युत प्राधिकरणले गरी आएको हप्ताको २१ घण्टाको लोड सेडिङ्गबाट आजदेखि ४० घण्टा गर्न लागेकोमा यसबाट पर्यटन लगायतका समग्र उद्योग व्यवसायमा पर्ने नकारात्मक प्रभाव एवं यसबाट हुने राष्ट्रिय नोक्सानी सम्बन्धमा गम्भीर ध्यानाकर्षण गराउनुको साथै कुनै पनि उपायबाट विद्युत शक्ति निश्चित समयमा नियमित रुपमा उपलव्ध गराउने व्यवस्था तत्कालै मिलाउन जोडदार आग्रह गरेको छ ।
विगत ११ वर्षम्म द्वन्दबाट सिर्जित समस्याको मार खेप्दै आएका उद्योग व्यवसाय क्षेत्र लोकतन्त्र प्राप्ति पश्चात पनि अनेकन दवाव, असुरक्षा एवं दिनहुं जसोको बन्द र हडताल जस्ता समस्याबाट आक्रान्त बन्दै आएकोमा त्यसमाथि विद्युत लोड सेडिङ्ग थपिदै जांदा उत्पादन, आपूर्ति, राजश्व, निर्यात, लगानी तथा पर्यटन प्रबर्द्धनमानै गम्भीर असर पर्ने उल्लेख गर्दै उक्त प्रतिनिधिमण्डलले यस्तो वातावरणमा स्वदेशी विदेशी लगानी र सेवा प्रवाहमा समेत नराम्रो प्रभाव पर्ने तर्फ पनि जलश्रोत राज्यमन्त्री कार्कीको ध्यानाकर्षण गराएको छ ।
सो अवसरमा जलश्रोत राज्यमन्त्री कार्कीले वर्तमान अवस्थामा उद्योग व्यवसाय क्षेत्रलाई विद्युत आपूर्तिको निश्चित र नियमित व्यवस्था के कसरी गर्न सकिन्छ त्यस सम्बन्धमा महासंघको तर्फबाट सुझाव दिन उक्त प्रतिनिधिमण्डललाई आग्रह गर्नु हुंदै सो सुझावको आधारमा सरकारले विद्युत आपूर्तिको व्यवस्था मिलाउने आश्वासन दिनु भयो ।