लामो द्वन्दपछि नेपाल सरकार र नेकपा (माओवादी) बीच सम्पन्न ऐतिहासिक शान्ति सम्झौताका साथै अन्तरिम व्यवस्थापिका संसदको गठन र अन्तरिम संविधानको घोषणा पश्चात स्थितिमा सुधार भई आर्थिक एजेण्डाले महत्वपूर्ण स्थान पाउने अपेक्षा निजी क्षेत्रले गरेको थियो । तर यी अपेक्षाका बावजूद पुनः तराई लगायत देशका विभिन्न भागमा भएका आन्दोलनका कारण उत्पादन, वितरण, रोजगारी एवं आवागमनमा मात्र नभई आयात निर्यात ठप्प हुन गई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारमा समेत गम्भीर असर पर्न गएको र यसै बीचमा दैनिक ६ घण्टा लोड सेडिङ्गले पर्यटन एवं उद्योग/व्यवसायलाई अर्को थप मार पर्न गएकोमा निजी क्षेत्र गम्भीर भएको छ ।
उद्योग क्षेत्रमा अहिलेका यी प्रमुख समस्या तुरुन्त समाधान नभएमा मुलुकको आर्थिक अवस्था अझ जर्जर हुन जाने र यसबाट अन्ततोगत्वा निजी क्षेत्र नै तहस नहस हुन जाने अवस्था श्रृजना हुने खतरा बढ्दै गएकोले उद्योग/व्यवसायका यी यावत समस्या समाधानको लागि साझा एजेण्डाका साथ निजी क्षेत्र बीच ऐक्यबद्धता सहित अघि बढ्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र महासंघका भूतपूर्व अध्यक्षहरु एवं अन्य वरिष्ठ उद्यमीहरु बीच आज काठमाडौंमा सम्पन्न बैठकमा समझदारी भएको छ ।
उक्त समझदारी अनुसार उद्योग/व्यवसायको सुसञ्चालनमा बाधा पर्न गएका विशेषतः निम्न बिषयहरुको (Issues) तत्काल समाधानका लागि निजी क्षेत्रबाट के कस्तो सहयोग र विकल्प सहितको रणनीति अवलम्बन गर्न सकिन्छ भन्ने बिषयमा देशका वरिष्ठ उद्यमी व्यवसायीहरुका साथै अर्थ एवं वाणिज्य विज्ञहरुको संयुक्त बैठक अविलम्ब आयोजना गरी छलफल गर्ने निर्णय समेत भएको छः
(क) तर्राई क्षेत्रमा भएको आन्दोलन ।
(ख) विद्युत लोड सेडिङ्गबाट परेको असर ।
(ग) औद्योगिक श्रम विवाद ।
(घ) बैंकको ऋण नतिरेर वित्तिय अवस्था संकट ग्रस्त बनाएको आरोपमा असी जना उद्यमी व्यवसायीको राहदानी रद्ध गर्ने सरकारको निर्णय।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालको सभापतित्वमा सम्पन्न उक्त बैठकमा महासंघका निवर्तमान अध्यक्ष बिनोद बहादुर श्रेष्ठ, भूतपूर्व अध्यक्ष पद्म ज्योति, महासंघका भूतपूर्व अध्यक्ष एवं नेपाल उद्योग परिसंघका अध्यक्ष बिनोद कुमार चौधरी, महासंघका उपाध्यक्षहरु दिवाकर गोल्छा, कुशकुमार जोशी, आजाद श्रेष्ठ र रविन्द्र श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरु सुरज बैद्य, रोहिणी थपलिया, बि.के श्रेष्ठ, बिजय दुगड, नेपाल उद्योग परिसंघका उपाध्यक्षहरु आत्माराम मुरारका र नरेन्द्र कुमार बस्नेतको उपस्थिति थियो ।