नेपाल - भारत वाणिज्य सन्धि (Treaty of Trade) दुई देश बीचको सहमति र सन्धिको व्यवस्था अनुसार अर्को पाँच वर्षका लागि स्वतः नविकरण हुनुका साथै विद्यमान अनधिकृत व्यापार नियन्त्रण सहयोग सम्झौता (Agreement of Cooperation to Control Unauthorised Trade) समेत अर्को पाँच वर्षका लागि नविकरण भएकोमा त्यसको स्वागत गर्दै नेपाल उद्योग वाणिज्य महासंघ नेपाल सरकार तथा भारत सरकार समक्ष धन्यवाद ज्ञापन गर्दछ ।
सन् १९९६ मा दुई देश बीच व्यापार सन्धि गराउन महासंघको पहलमा नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग महासंघ (CII) बीच गठित संयुक्त आर्थिक परिषद् (Joint Economic Council) ले अहं भूमिका निर्वाह गरेको र यस पटक पनि स्वतः नविकरण गरिनुका साथै उक्त सन्धिलाई नेपालको निर्यात, लगानी, पर्यटन प्रबर्द्धन जस्ता क्षेत्रलाई अझ लाभदायक र प्रभावकारी बनाउनुका अतिरिक्त नेपाली बस्तुको निर्यातमा देखा परेका विभिन्न समस्या हटाउन र अवैध व्यापार रोकथामका लागि समेत सरकारका साथै उक्त परिषद् मार्फत समेत पहल गर्दै आएको थियो ।
यद्यपी वाणिज्य सन्धि स्वतः नविकरण गर्ने सहमति भए पनि क्वारेन्टाइन जाँच पास, खाद्य गुणस्तर परीक्षणको प्रावधान र भारतले केही बस्तु (तयारी पोशाक, मसला (Spices) र औषधि आदि) मा लिंदै आएको चार प्रतिशत अतिरिक्त भन्सार महशूल हटाउन भारतीय पक्ष सकारात्मक भए पनि यी बिषय सन्धिमा समावेश नभएकाले सो शुल्क हटाउनु पर्नेमा महासंघ जोडदार आग्रह गर्दछ ।