»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















औद्योगिक व्यवसायिक वातावरण तत्काल सृजना गर्नुपर्ने लगायतका विभिन्न निर्णय सहित महासंघको कार्यकारिणी समितिको वैठक सम्पन्न (२०६३/११/२३)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालको अध्यक्षतामा हिजो महासंघको सचिवालयमा बसेको कार्यकारिणी समितिको एघारौं वैठकले देशको उद्योग व्यवसाय लगायत आर्थिक क्षेत्रको वर्तमान वस्तुस्थिति सम्बन्धमा विस्तृत छलफल गर्दै तराई क्षेत्रको आन्दोलनका कारण भएको बन्द, हड्ताल र विद्युत लोड सेडिङ्ग, यातायात अवरोध, चन्दा एवं श्रम विवाद, अपहरण तथा लुटपाट जस्ता समस्याबाट उद्योग व्यवसाय ठप्प हुन गएकोले सरकारबाट तत्कालै यी समस्या समाधान गरी शान्ति सुरक्षा लगायत उद्योग व्यवसाय संचालनको वातावरण सृजना नभएसम्म चालिने कदम बारे विभिन्न निर्णय सहित सो सम्बन्धमा अपिल प्रकाशित गर्ने निर्णय गर्नुका साथै महासंघको आगामी ४१ औं वार्षिक प्रतिवेदन-२०६३ र आ.व. २०६२/६३ को लेखा परीक्षणको प्रतिवेदनलाई पारित गर्यो ।

आगामी चैत्र २८ गते आयोजना गरिने उद्योग वाणिज्य दिवससंगै चैत्र २८ र २९ गते महासंघको ४१ औ वार्षिक साधारण सभा र सोही अवसरमा नेपाल व्यापार मेला-२०६३ (Nepal Trade Fair 2007) आयोजना गर्ने पनि निर्णय गरिएको छ ।

वैठकले सो दिवस एवं साधारण सभाको कार्यक्रम तथा मेला र सार्क कार र्‍याली सम्बन्धमा पनि विस्तृत छलफल गर्यो ।

महासंघका निवर्तमान अध्यक्ष विनोद बहादुर श्रेष्ठले सदस्यता समितिको सिफारिस अनुसार नयां सदस्यताका लागि प्रस्तुत गर्नु भएकोमा वैठकले निम्न संस्था एवं उद्योग प्रतिष्ठानलाई महासंघको सदस्यता प्रदान गर्ने निर्णय गरेको छः

वस्तुगत सदस्यताः
१. नेपाल निर्यात परिषद्

एशोसिएट सदस्यताः
१. ग्लोबल वैंक लिमिटेड
२. इन्टरनेशनल मनि एक्सप्रेस प्रा.लि.
३. दिपलक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.

वैठकका सहभागिहरुले तराईका आन्दोलनका कारण भएको बन्द, हड्ताल जस्ता गतिविधिले उद्योग व्यवसाय लगायत समग्र आर्थिक सामाजिक क्षेत्र तहस नहस भएको र जनताको आ-आफ्नो पेशा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकारमानै असर पर्न गएको, भन्सार बन्द, लामो अवधिको लोड सेडिङ्ग, चन्दा एवं श्रम विवादका साथै अपहरण तथा लुटपाट, औद्योगिक प्रतिष्ठान र यातायात माथि गरिएको तोडफोड, आगजनी एवं संचालनमा अवरोध, उत्पादित वस्तु गन्तव्यसम्म लैजान नसक्दा ती वस्तुको नोक्सानी एवं आपूर्तिमा समस्या भईरहेको उल्लेख गर्दै यस्तो अवस्थामा आन्दोलनकर्ताहरु उद्योग व्यवसायका ती समस्याका विपरित आ-आफ्नै मागमा केन्द्रित रहेकोमा गम्भिर चिन्ता प्रकट गर्नु भयो ।

त्यसैगरी तर्राई तथा विभिन्न क्षेत्रबाट उठाइएका मागहरु फिर्ता लिई वार्ताको माध्यमबाट समाधान गर्नु पर्नेमा जोड दिदैं शान्ति सुरक्षा लगायत उद्योग व्यवसाय संचालनको वातावरण सृजना नभएसम्म सम्पूर्ण उद्योगी व्यवसायीले बन्द, हड्ताल र चक्काजाम जस्ता अवधिको राजश्व, वैंक व्याज, संचार तथा विद्युत महसूल नतिर्ने र उद्योग संचालनमा नरहेको अवधिको मजदूर/कामदारको तवल भत्ता ज्याला तिर्न नसक्ने तथा बन्द, हड्ताल, चक्का जाम, नाकाबन्दीबाट उद्योग व्यवसायमा हुन गएको नोक्सानीको क्षतिपूर्ति त्यस्ता कार्यक्रम आयोजक वा आव्हानकर्ताले नै व्यहोर्नु पर्नेमा जोड दिनु भयो ।

महासंघका अध्यक्ष ढकालले विशेष गरी तराई र विभिन्न क्षेत्रबाट भएको आन्दोलनका कारण सिर्जित समस्याले उद्योग व्यवसाय थप ह्रासोन्मुख भएको, उद्योग व्यवसाय प्रायः ठप्प हुन पुगेको, यातायात अवरुद्ध र भन्सार ठप्प भएको, विद्युत लोड सेडिङ्ग, चन्दा एवं श्रम विवाद, लुटपाट र अपहरण जस्ता समस्याले आर्थिक सामाजिक क्षेत्रनै अस्तव्यस्त हुन पुगेको र समस्या समाधानका लागि सरकार र राजनीतिक दलहरुसंग बारम्बार आग्रह गर्दा पनि समाधान हुन नसकेकाले महासंघद्वारा यस अघि गठित राष्ट्रिय संघर्ष समिति र सवै क्षेत्रका उद्योगी व्यवसायीहरुको छिट्टै संयुक्त छलफल आयोजना गरि समाधानको उपाय निर्क्यौल गर्ने सोच रहेको उल्लेख गर्नु भयो ।

महासंघका भूतपूर्व अध्यक्ष एवं सल्लाहका समितिका सदस्य महेशलाल प्रधान तथा विशिष्ठ सदस्य रवि भक्त श्रेष्ठ समेतको उपस्थिति रहेको उक्त वैठकमा प्रथम उपाध्यक्ष दिवाकर गोल्छाले महासंघको आ.व. २०६२/६३ को लेखा परीक्षणको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्नु भयो ।

त्यसैगरी द्वितीय उपाध्यक्ष कुश कुमार जोशीले विद्युत लोड सेडिङ्ग न्यूनिकरण गर्न महासंघबाट भएका प्रयास तथा सार्क कार र्‍यालीमा महासंघ एवं सदस्य संघहरुको भूमिका सम्बन्धमा र तृतीय उपाध्यक्ष आजाद श्रेष्ठले नेपाल व्यापार मेला-२०६३ सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.