नेपाल उद्योग वाणिज्य महासंघले (१) मुलुकमा उत्पन्न समस्याका साथै उद्योग व्यवसाय संचालनको क्रममा देखा परेका तत्कालिन समस्या समाधानको लागि पहल गर्ने तथा (२) विभिन्न जिल्ला र क्षेत्रको वस्तुस्थिति बुझि आवश्यकतानुसार सल्लाह/सुझाव दिने एवं सरकारका सम्बन्धित निकायसंग समन्वय गर्ने गरी छुट्टै संकट व्यवस्थापन इकाई (Crises Management Cell) स्थापना गरेको छ । महासंघका महानिर्देशकको प्रत्यक्ष निर्देशन र समन्वयमा सो इकाईले काम गर्ने गरी छुट्टै व्यवस्था मिलाईएको छ ।
यसै क्रममा आ-आफ्नो जिल्ला वा क्षेत्रका वस्तुस्थिति वारे तत्कालै, निरन्तर एवं दैनिक रुपमा महासंघको उक्त इकाईलाई जानकारी उपलब्ध गर्राई समस्या समाधानमा सहयोग गर्न समेत महासंघले आफ्ना सम्पूण सदस्यहरुमा आग्रह गरेको छ ।
महासंघलाई उपलव्ध गराउन आग्रह गरिएका जानकारीहरुमा (१)बन्द, हड्ताल, चक्का जाम, नाकाबन्दी आदिको अद्यावधिक बस्तुस्थिति, (२) उद्योग व्यवसाय र उद्योगी व्यवसायी माथि भएको दवाव, आक्रमण एवं क्षति, (३) चोरी, डकैति, लुटपाट, अपहरण, चन्दा आतंक आदि र (४) यातायात, ढुवानी तथा आवागमनमा भएको अवरोध तथा आपूर्ति स्थिति रहेका छन् ।
सो सम्बन्धमा प्राप्त जानकारी अनुसार समस्या समाधानको लागि पहल गर्नुका साथै सञ्चार जगत मार्फत जनसमक्ष ल्याउने हुंदा सोका लागि महासंघको सो इकाई प्रत्येक दिन विहान ८:०० बजेदेखि बेलुका ८:०० बजेसम्म खुल्ला रहने व्यवस्था समेत महासंघले मिलाएको छ ।