नेपाल उद्योग वाणिज्य महासंघ रहेको व्यवसायिक मेलमिलाप केन्द्रद्वारा आज एक अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।
मेलमिलाप केन्द्र संचालक समितिका सभापति अशोक तोदीको साभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मेलमिलाप सम्बन्धी प्रकृयावाट विवादहरुको छिटो छरितो समाधान हुने र यसवाट अदालतमा थाति रहेका मुद्दाहरुमा मेलमिलाप गराउन अदालतवाट प्रकृया शुरु भै सकेको जानकारी दिनुहुदै श्रम अदालतका न्यायाधीस शेषराज शिवाकोटीले श्रम विवाद पनि मेलमिलापको माध्यमवाट प्रभावकारी ढंगवाट समाधान गर्न सकिने कुरामा जोड दिनु भयो ।
सो अवसरमा सभापति तोदीले व्यवसायिक मेलमिलाप केन्द्रले निष्पक्ष ढंगले कार्य संचालन गर्ने कुरामा आश्वत पार्नुहुदै यसको प्रभावकारिता बढाउन ट्रेड यूनियन पक्षको सहयोग एवं सुझावको लागि आग्रह गर्नु भयो ।
कार्यक्रममा अधिवक्ता बद्री भण्डारीले मेलमिलाप प्रकृया सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । साथै ए.आर.डी प्रोजेक्टका डेपुटी पाटी चिफ गोविन्द दास श्रेष्ठ र नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस तथा नेपाल प्रजातान्त्रिक ट्रेड युनियन महासंघका प्रतिनिधिहरुले मन्तव्य दिनु भएको थियो ।
छलफलको क्रममा सहभागि कानून व्यवसायी, ट्रेड यूयियनका पदाधिकारी तथा श्रम सम्बन्धी विज्ञहरुले मेलमिलापको प्रकृया माथि प्रकाश पार्दै आ-आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।