लामो समयदेखि द्वन्द र यसबाट सिर्जित समस्याका कारण देश र जनताले अत्यन्त पिडा भोग्दै आएकोमा ऐतिहासिक जन आन्दोलन-२ पश्चात नेपाल सरकार र नेपाल कम्यूनिष्ट पार्टि (माओवादी) वीच सम्पन्न शान्ति सम्झौता, अन्तरिम व्यवस्थापिकाको गठन र अन्तरिम संविधानको घोषणाका साथै नेपालको राजनीतिक क्षेत्रमा अत्यन्त महत्वपूर्ण पाइलाको रुपमा आज नेकपा -माओवादी) सहितको अन्तरिम सरकार गठन भएकोमा नेपाल उद्योग वाणिज्य महासंघ हार्दिक सराहना सहित त्यसको स्वागत गर्दछ ।
साथै प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा नव गठित अन्तरिम सरकार देशमा जनधनको पूर्ण प्रत्याभुती सहित शान्ति सुरक्षा कायम गर्न, लोकतन्त्रलाई सुदृढ गर्दै निर्धारित समयमै संविधान सभाको निर्वाचन सम्पन्न गरि दीगो र स्थायी शान्ति स्थापना गरि नयां नेपाल निर्माण गर्न तथा निजी क्षेत्रका माग एवं समस्या समाधानको लागि प्रधानमन्त्री सहित आठ राजनीतिक दलहरुबाट हालै लिखित रुपमा जनाएको प्रतिवद्धता पूरा गरी अनुकूल औद्योगिक व्यवसायिक वातावरण सृजनाबाट आर्थिक क्रियाकलाप एवं रोजगारी अभिवृद्धि जस्ता कार्यलाई गति दिन सक्षम हुने विश्वास समेत महासंघले लिएको छ ।
यसैगरी यस अन्तरिम सरकारको गठनबाट देशमा अव विगतमा जस्तो द्वन्द, अशान्ति र असुरक्षा, अनेकन दवावका साथै प्रतिकूल औद्योगिक व्यवसायिक वातावरणको अन्त भई एक समुन्नत एवं लोकतान्त्रिक नेपाल र समृद्ध नेपाली हुने अपेक्षा सहित यस कार्यमा सहयोग गर्न निजी क्षेत्र सदा तत्पर रहने प्रतिवद्धता समेत महासंघ व्यक्त गर्दछ ।