नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकाललाई पितृ शोक परेको छ । उहाँका पुज्य पिता लक्ष्मण प्रसाद ढकालको ८० वर्षको उमेरमा गए राती १२:३० बजे ओम अस्पताल, काठमाडौंमा उपचार गर्दा गर्दै असामयिक निधन भएको हो ।
मुटु रोगका कारण केही दिनदेखि उहाँको उक्त अस्पतालबाट उपचार हुंदै आएको थियो ।
वि.सं. १९८४ साल भदौ ३ मा भोजपुरमा जन्मिई झापालाई आफ्नो कार्यथलो बनाउंदै आउनु भएका स्वर्गिय ढकाल राजनीतिज्ञ एवं समाजसेवी हुनु हुन्थ्यो ।
स्वर्गिय ढकालका श्रीमती रामरेखा ढकाल एवं चार सुपुत्र मध्ये चण्डिराज ढकाल जेष्ठ सुपुत्र हुनु हुन्छ र नवराज, टिकाराज र हेमराज क्रमशः माहिला, साहिला र कान्छा सुपुत्र हुनुहुन्छ ।
साथै उहाँका पाँच जना छोरीहरु र नाति नातिनाहरु समेत हुनुहुन्छ ।
स्वर्गिय ढकालको आजै विहान पशुपति आर्यघाटमा दाह संस्कार गरियो ।
उहाँलाई अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आर्यघाटमा मन्त्रीगण, पूर्व प्रधानमन्त्री, पूर्व मन्त्रीहरु, राजनीतिक नेताहरु, महासंघका वर्तमान एवं पूर्व पदाधिकारीहरु, कार्यकारिणी समिति सदस्य एवं सल्लाहकारहरु, महासंघका सदस्य संघ/संस्थाका पदाधिकारी एवं सदस्यहरु, प्रतिष्ठित उद्योगी व्यवसायीहरु, सरकारी उच्चपदस्थ अधिकारीहरु, मानव अधिकारवादी, पेशागत एवं व्यवसायिक संघ/संस्थाका पदाधिकारी एवं प्रतिनिधिहरु, बुद्धिजीवी, पत्रकार, महासंघका कर्मचारी आदिको उपस्थिति थियो ।