नेउवामहासंघ व्यवसायिक मेलमिलाप केन्द्र तथा पोखरा उद्योग वाणिज्य संघको संयुक्त आयोजना र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दिपक श्रेष्ठको सभापतित्वमा हालै मेलमिलाप सम्बन्धी अन्तरक्रिया सम्पन्न भयो ।
उक्त कार्यक्रममा बोल्दै कास्की जिल्ला अदालतका न्यायाधीश वीरेन्द्र कुमार वाटाजुले अदालती प्रकृयावाट विवादको समाधान गर्दा समय बढी लाग्ने एवं खर्चिलो हुने तथा निश्चित प्रकृयाको अनुशरण गर्नु पर्ने हुंदा न्यायिक प्रकृया ढिलो हुन सक्ने भएकाले समय, खर्च एवं समधुर सम्बन्धको लागि मेलमिलापको माध्यमवाट विवादको समाधान गर्नु पर्ने अवधारणा समेत राख्नु भयो । उहांले अदालतमा मुद्दाको बोझ अत्यन्तै बढ्दै गई रहेकोले मुद्दाको संख्या घटाउन तथा समयमानै न्याय पाउने वातावरण बनाउन मेलमिलाप प्रकृया अपनाउन समेत सुझाव दिनुभयो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्नु हुदै व्यवसायिक मेलमिलाप केन्द्र संचालक समितिका सभापति अशोक कुमार तोदीले अदालती प्रकृयावाट हारजित हुने एवं यसबाट व्यवसायिक सम्बन्ध बिग्रन सक्ने तर व्यवसायिक विवादमा सम्बन्ध प्रमुख विषय रहने हुंदा व्यवहारिक किसिमले विवादको समाधान र विवादित सबै पक्षहरुको जितको लागि नेपाल उद्योग वाणिज्य महासंघमा व्यवसायिक मेलमिलाप केन्द्र स्थापना गरिएको र यसवाट व्यवसायीहरु निकै लाभान्वित हुने बताउनु भएको थियो ।
मेलमिलाप प्रकृयामा कार्यपत्र प्रस्तुत गर्दै व्यवसायिक मेलमिलाप केन्द्र संचालक समितिका सदस्य बद्री प्रसाद भण्डारीले अदालतमा रहेका दुई तिहाई मुद्दा मेलमिलाप प्रकृयावाट समाधान हुन सक्ने तथ्याङ्क प्रस्तुत गर्नु भयो । साथै सवोच्च अदालत र पुनरावेदन अदालत पाटनमा मेलमिलाप प्रकृयामा पर्ठाईएका मुद्दाहरु दुई महिनामा ४० प्रतिशत विवाद समाधान भएका र अन्य मुद्दा समाधानको प्रकृयामा रहेकोले मेलमिलापको ठूलो महत्व देखिएको विचार व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेपाल बार एसोसिएसनका उपाध्यक्ष मुकुन्द शर्मा पौडेल, पुनरावेदन वार तथा जिल्ला बार एशोसिएशनका पदाधिकारी, पश्चिमाञ्चल क्षेत्रका उद्यमी व्यवसायी, प्राध्यापक एवं विज्ञहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।