नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालको सभापतित्वमा महासंघको सचिवालयमा आज आयोजित शोक सभाले महासंघका भूतपूर्व मानार्थ उपाध्यक्ष एवं भूतपूर्व कोषाध्यक्ष मोहनगोपाल खेतानको यही बैशाख १३ गते काठमाडौंमा असामयिक निधन भएकोमा नेपालको तमाम निजी क्षेत्रलाई मर्माहत एवं स्तब्ध तुल्याएको उल्लेख गर्दै यस दुःखद घडिमा गहिरो दुःख व्यक्त गर्नुका साथै शोक प्रस्ताव पारित गरेको छ ।
सो सभाले स्वर्गिय आत्माको चीर शान्तिको कामना गर्दै स्वर्गिय खेतान प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै एक मिनेट मौन धारण समेत गर्यो ।
उक्त सभाले स्वर्गिय खेतानले महासंघलाई पुर्याउनु भएको योगदानलाई निरन्तर कदर र सम्मान सहित सम्भिm रहने उल्लेख गरेको छ ।
प्रतिष्ठित व्यवसायी स्व. विहारीलाल खेतानका सुपुत्र स्व. खेतानले नेपालको उद्योग, व्यवसाय लगायत वैक तथा वित्त क्षेत्रको विकासका साथै राष्ट्रिय/अन्तर्राष्ट्रिय व्यापारको विकासमा उल्लेख्य भूमिका निर्वाह गर्नु भएको थियो । उहांले सन् १९७० मा खेतान ग्रुप स्थापना गर्नु भएको थियो । उद्योग, वाणिज्य लगायतका आर्थिक एवं शिक्षा र स्वास्थ्य क्षेत्रमा मात्र नभई अन्य सामाजिक सेवाका क्षेत्रमा समेत उहा“को अतुलनीय योगदान रहेको छ । उहांले विभिन्न व्यवसायिक तथा सामाजिक संघ/संस्थाहरुमा समेत महत्वपूर्ण पदहरुमा रहेर कार्य गर्नु भएको थियो ।
महासंघमा वि.सं. २०३२ देखि वि.सं. २०५४ सम्म पटक पटक विभिन्न ओहदामा रहि महासंघको संस्थागत विकास र सुदृढिकरणका साथै महासंघलाई आजको स्थितिमा पुर्याउन उहांले उल्लेखनीय योगदान गर्नु भएको थियो । नेपालको प्रतिष्ठित औद्योगिक व्यवसायिक समूह खेतान ग्रुपका अध्यक्ष समेत रहनु भएका स्वर्गिय खेतान दर्जनौं औद्योगिक व्यवसायिक प्रतिष्ठानका अध्यक्ष एवं व्यवस्थापन निर्देशक मात्र नभई नेपाल वैंकका संचालक, हिमालयन वैंकका प्रवर्द्धक एवं लक्ष्मी बैंकका अध्यक्ष हुनुहुन्थ्यो ।
महासंघमा वि.सं. २०४७ - २०५४ को अवधिमा मानार्थ उपाध्यक्ष एवं भवन निर्माण समितिका सभापति हुनुहुन्थ्यो भने यसअघि वि.सं. २०३४ - २०३५ को अवधिमा कोषाध्यक्ष र वि.सं. २०३२ -२०३४ को अवधिमा कार्यकारिणी समितिका सदस्य भई राष्ट्रिय अर्थतन्त्रमा महासंघको भूमिकालाई स्थापित गर्न उहांले पुर्याउनु भएको योगदानलाई नेपाली निजी क्षेत्रले उच्च मूल्यांकन गरेको छ र उहांको निधनबाट महासंघ लगायत निजी क्षेत्रलाई अपुरणीय क्षति पुग्न गएको छ ।
परम्परागत कृषि प्रणालीबाट औद्योगिकिकरण तर्फ मुलुकलाई अग्रसर गर्राई आर्थिक तथा रोजगारी प्रबर्द्धनमा उहा“को योगदान सराहनीय छ ।
नेपालका लागि र्टर्कीका अवैतनिक महावाणिज्यदूत समेत रहनु भएका स्वर्गिय खेतान एक वरिष्ठ उद्यमी व्यवसायी मात्र नभई इमान्दार, विवेकशिल, कर्तव्यनिष्ठ र स्पष्ट वक्ता हुनुहुन्थ्यो । उहांको निधनबाट राष्ट्रले एक होनाहार उद्योगी व्यवसायी गुमाउनु परेको छ । यस दुःखद घडीमा सो शोक सभाले महासंघ परिवार तथा सम्पूर्ण निजी क्षेत्रको तर्फबाट स्वर्गिय खेतानको शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिका लागि श्री परमेश्वरसंग प्रार्थना गर्यो ।
शोक सभामा महासंघका वर्तमान एवं पूर्व पदाधिकारीहरु, सल्लाहकार समिति र कार्यकारिणी समितिका सदस्यहरु तथा महासंघका कर्मचारीहरुको सहभागिता थियो ।