नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रवर्द्घित नेपाल युवा उद्यमी मञ्च (NYEF) ले विगत दुई/तीन वर्षदेखि युवा उद्यमशीलताको प्रवर्द्घनका अतिरिक्त राष्ट्रको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले विशेष गरि युवा वर्गलाई देशभित्रै विभिन्न अवसरको श्रृजना गर्ने परियोजना तथा कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
विभिन्न कार्यक्रमहरु मध्ये मञ्चले नेपाली उपभोक्तामा नेपाली बस्तु तथा सेवाहरुलाई उपेक्षा गर्ने प्रवृत्तिलाई न्यून गर्ने उद्देश्यले "Made in Nepal" अभियान समेत संचालन गर्दै आएको छ । नेपाली वस्तु तथा सेवाहरुको खपत र प्रयोगले नेपाली उद्योग तथा सेवा प्रदायकको र उनीहरुको वस्तु तथा सेवाको स्तर अभिवृद्घि हुनुका साथै राष्ट्रिय अर्थतन्त्रको उन्नतिमा पनि टेवा पुग्ने विश्वास मञ्चले लिएको छ ।
"Made in Nepal" अभियान अर्न्तर्गत २०६३ साल भाद्र २० देखि २६ गतेसम्म "हाम्रै प्रदर्शनी" "Made in Nepal" आयोजना गरिएको थियो । यस किसिमको प्रदर्शनी आगामी दिनमा पनि गरिने छ ।
अभियानको दोश्रो चरणको कार्यक्रम अर्न्तर्गत उपभोक्तामाझ हाम्रो अपिलको व्यापक प्रचार प्रसार गर्ने र स्वदेशी बस्तुको उपभोगमा जागरण ल्याउने उद्देश्यले भोलि जेष्ठ ५ गत काठमाडौंमा "Postering" कार्यक्रमको शुभारम्भ गरिने कार्यक्रम छ । यस प्रकारको कार्यक्रम काठमाडौंमा मात्र नभई अधिराज्यका विभिन्न शहरहरुमा विस्तार गरिने छ । यस कार्यक्रमबाट नेपाली उपभोक्ता माझ नेपाली वस्तु तथा सेवा प्रति सद्भाव विकास हुने र यस अभियानको विषयमा सूचित हुने अपेक्षा गरिएको छ ।
"Made in Nepal" अभियानको उद्देश्य नेपालमा मात्र सिमित नभई विश्वमा नेपाली वस्तुको पहिचान स्थापित गर्ने रहेको छ । यस अभियानमा सहयोग पुर्याई दिन हुन नेपाल युवा उद्यमी मञ्च समस्त नेपाली मित्रहरु माझ अनुरोध गर्दछ ।