युरोपिय युनियनको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ अर्न्तर्गत स्थापित प्रविधि तथा व्यापार सूचना प्रबर्द्धन प्रणाली (TIPS), विनर नेपाल (WINNER Nepal), औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (IEDI) र नेउवामहासंघ-महिला उद्यमी विकास मञ्चको संयुक्त तत्वावधानमा महासंघमा सञ्चालित उद्यमशीलता विकास तालीम आज सम्पन्न भयो ।
पाँच दिने उक्त तालीममा व्यवसायिक योजना, विक्रयकला, व्यवसाय छनौट प्रक्रिया, बजारिकरण, मूल्य निर्धारण (Costing) जस्ता बिषयमा विभिन्न श्रोत व्यक्तिहरुद्वारा प्रशिक्षण दिइएको थियो ।
उद्योग व्यवसाय सञ्चालन गर्न चाहने दशजना महिलाको सहभागिता रहेको उक्त तालीमको समापन समारोहमा प्रशिक्षार्थीहरुलाई महासंघका का.मु. महानिर्देशक मेघनाथ न्यौपाने र सो प्रतिष्ठानका कार्यकारी निर्देशक बाबुराम रानाभाटले प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
सो समारोहलाई संबोधन गर्नु हुंदै महासंघका का.मु. महानिर्देशक न्यौपानेले देशमा उद्योग व्यवसायको माध्यमबाट आर्थिक विकासमा टेवा पुर्याउनुको साथै रोजगारी प्रबर्द्धनका लागि समेत महिला उद्यमशीलता विकास अत्यन्त महत्वपूर्ण भएको र यस क्षेत्रमा प्रतिष्ठानको सहयोग सराहनीय रहेको उल्लेख गर्नु भयो ।
देशमा महिला उद्यमशीलताको विकास र प्रबर्द्धन गर्ने उद्देश्यले महासंघले विगत २०४४ सालदेखिनै छुट्टै समिति गठन गरी कार्य गर्दै आएको छ र हाल अधिराज्यका ३९ जिल्लामा महिला उद्यमी विकास इकाइ गठन भई कार्यरत छन् ।