नेपाल-चीन गैर सरकारी सहयोग मञ्च (Nepal-China Non Govermental Cooperation Forum) को यही जेठ २९ र ३० गते (June 12 – 13) काठमाडौंमा हुने नवौं बैठकको तयारी एवं सो बैठकलाई दुई देश बीच व्यापार, पर्यटन, लगानी एवं अन्य आर्थिक सम्बन्ध विस्तारका लागि अझ प्रभावकारी बनाउने सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल स्थित चिनियाँ राजदूतावास बीच हिजो काठमाडौंमा विस्तृत छलफल भयो ।
महासंघका अध्यक्ष एवं मञ्चका सहअध्यक्ष चण्डिराज ढकाल तथा द्वितीय उपाध्यक्ष एवं मञ्चका संयोजक कुशकुमार जोशी र नेपालका लागि चिनियाँ राजदूत चङ सियाङ्गलिन (Zheng Xianglin) बीच भएको उक्त बैठकमा महासंघका तर्फबाट नेपालमा औद्योगिक व्यवसायिक लगानीका साथै नेपाललाई चिनियाँ पर्यटकहरुको गन्तव्य स्थलको रुपमा चीन सरकारले तोके अनुसार नेपालमा पर्यटक प्रवाह, पांचखालमा विशेष आर्थिक क्षेत्र (SEZ) निर्माण, नेपाल र चीनका विभिन्न शहर बीच हवाई सम्पर्क विस्तार, नेपाली उत्पादनलाई चिनियाँ बजारमा सुविधायुक्त प्रवेश जस्ता मञ्चको सुझाव एवं पहलमा भएका निर्णयहरुलाई प्रभावकारी रुपमा अघि बढाउन मञ्चको साथै कुटनीतिक माध्यमबाट समेत विशेष पहल हुनु पर्नेमा जोड दिईएको छ ।
उक्त अवसरमा चिनियाँ राजदूत सियाङ्गलिन (Xianglin) ले महासंघको सुझावलाई गम्भीरतापूर्वक लिई कार्यान्वयन गराउनुका साथै सो बैठकलाई अझ बढी प्रभावकारी बनाउन सक्दो सहयोग गर्ने आश्वासन दिनु हुंदै चिनियाँ उद्यमीहरु नेपालमा लगानी गर्न इच्छुक भएको र नेपालको शान्ति प्रक्रिया अघि बढि रहेको सन्दर्भमा आगामी बैठक बढी फलदायी हुने बताउनु भयो ।
उक्त बैठकमा महासंघका का.मु. महानिर्देशक मेघनाथ न्यौपाने र अरनिको समाजका अध्यक्ष डा. हरिशचन्द्र शाहको पनि उपस्थिति थियो ।
मञ्चको नवौं बैठकमा भाग लिन अखिल-चीन उद्योग वाणिज्य महासंघका उपाध्यक्ष (All China Federation of Industry & Commerce) का उपाध्यक्ष झाङ्ग लङ्गझी (Zhang Langzhi) को नेतृत्वमा करिव ३० सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आउने कार्यक्रम छ ।
स्मरणीय छ, नेपाल र चीन बीच द्विपक्षीय व्यापार, लगानी लगायतका आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले २०५३ सालमा गठित नेपाल-चीन गैर सरकारी सहयोग मञ्चको मध्यमबाट दुई देश बीच आर्थिक सम्बन्ध विस्तारमा महत्वपूर्ण उपलव्धिहरु हासिल भई रहेका छन् ।