कामना प्रकाशन समूहबाट नियमित रुपमा प्रकाशित हुंदै आएका नेपाल समाचार पत्र राष्ट्रिय दैनिक लगायत महानगर तथा सन्ध्याकालिन दैनिक वितरकहरुको कारण यही असार ५ गतेदेखि प्रकाशन कार्य केही दिन बन्द गरिएकोमा नेपाल उद्योग वाणिज्य महासंघको गम्भिर ध्यानाकर्षण भएको छ ।
लामो समयदेखि नियमित रुपमा प्रकाशित हुंदै आएको र पाठकहरु माझ आफ्नो स्थान कायम गर्न सफल भैसकेका पत्रपत्रिका यसरी अनायासमा बन्द गर्नु पर्दा लाखौं पाठकहरुको सुसूचित हुने अधिकार माथिनै प्रश्न चिन्ह लागेको मात्र नभई व्यवसायिहरुको लगानी जोखिममा पर्न जाने र हजारौं कामदार कर्मचारीको रोजगारी नै ठप्प हुन गएको छ ।
श्रम सम्बन्धी समस्या वा यस सम्बन्धी अधिकारको उपयोग गर्न पाउनु पर्नेमा दुई मत छैन तर यस सम्बन्धी कानूनी प्रक्रिया पुर्याएर गर्नु पर्ने र यसमा सम्बन्धित सबैले सहयोग गर्नु पर्ने धारणा पनि यस महासंघको रहेको छ ।
साथै कुनै पनि समस्याको समाधान वार्ताद्वारा गर्न सकिने हुंदा वार्ताद्वारा समस्या समाधान गर्न र पत्रपत्रिका नियमित प्रकाशित गर्न तथा प्रकाशन तथा वितरण कार्यमा कहिं कतैबाट अवरोध नपुर्याउन महासंघ सम्बन्धित सबै पक्षसंग आग्रह गर्दछ ।