देशमा धेरै लामो समयदेखि विभिन्न राजनीतिक दल तथा विभिन्न समूहबाट आफ्ना माग पूरा गराउन विरोध स्वरुप पटक पटक बन्द, हडताल, चक्काजाम जस्ता कार्यक्रम राख्ने गरिएको र यसबाट उद्योग व्यापार लगायत सम्पूर्ण पेशा व्यवसाय, उत्पादन, सेवा, रोजगारी, आवागमन, ढुवानी, आपूर्ति जस्ता सम्पूर्ण क्षेत्र नराम्ररी प्रभावित हुंदै आएका छन् । साथै बन्दका क्रममा निजी तथा र्सार्वजनिक सम्पत्तिको ठूलो नोक्सानी समेत हुने गरेको देखिन्छ । यसैले बन्द हडताल जस्ता कार्यक्रमहरु सदाका लागि अन्त गर्न नेपाल उद्योग वाणिज्य महासंघले बारम्बार सम्बन्धित सबै पक्षको ध्यानाकर्षा गराउंदै आएको हो ।
यसै बीच यही असार १० गते सप्तरी जिल्लाको रुपनी भन्ने स्थानमा अचानक बन्द गरिएको र बन्दका क्रममा त्यहांका साथै कपिलवस्तु जिल्लाको चनौटामा गाडीहरु तोडफोड गरिनुका अतिरिक्त आगो लगाई सम्पूर्ण सामान सहित नष्ट पारिएको विषयलाई लिएर नेपाल सामान ढुवानी व्यवसायी संघले नेपाल सरकारसंग विभिन्न माग राखी सोही दिनदेखि अनिश्चित कालिन ढुवानी बन्द गरिएकोमा नेपाल उद्योग वाणिज्य महासंघको गम्भिर ध्यानाकर्षण भएको छ ।
संघले राखेका सडकलाई शान्ति क्षेत्र घोषणा गर्नु पर्ने, बन्दकर्ता समूह वा व्यक्तिबाट हुने बन्द, हडतालमा आगजनि एवं तोडफोडबाट हुने हानी नोक्सानीको क्षतिपूर्ति राज्य वा कुन पक्षबाट दिने हो सोको अविलम्ब व्यवस्था हुनु पर्ने तथा मालसामान ढुवानी गराउंदा माल धनीलाई अनिवार्य ट्रान्जिट (Transit) बीमा गर्न/गराउन सूचना जारी गर्नु पर्ने अन्यथा दैवि प्रकोप, दुर्घटना वा तोडफोडबाट हुन गएको क्षतिको जिम्मेवारी ढुवानी कर्ता नहुने माग र मर्मलाई मध्यनजर राखी मालसामान आपूर्ति एवं ढुवानी व्यवस्था सहज बनाउन आवश्यक व्यवस्थाको लागि महासंघ नेपाल सरकारसंग जोडदार आग्रह गर्दछ ।