स्थानीय आर्थिक तथा सामाजिक विकासमा उद्योग वाणिज्य संघ र स्थानीय निकायहरु बीच सार्वजनिक-निजी साझेदारीको अवधारणा अनुरुप संचालित कार्यक्रमहरु निकै प्रभावकारी भएको र लेखनाथ उद्योग वाणिज्य संघ लगायत महासंघका केही सदस्य उद्योग वाणिज्य संघहरु यस कार्यमा निकै सफल भएको बताइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकाल एवं अन्य पदाधिकारीहरु र लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष चतुराखर अधिकारीको नेतृत्वमा आएको लेखनाथका व्यवसायीहरु सम्मिलित प्रतिनिधिमण्डल बीच आज महासंघको सचिवालयमा भएको छलफल कार्यक्रममा सो कुरा बताइएको हो ।
विभिन्न जिल्लाका उद्योग वाणिज्य संघहरुको अध्ययन भ्रमणका क्रममा महासंघ सचिवालयमा आएको उक्त प्रतिनिधिमण्डललाई स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष ढकालले स्थानीय क्षेत्रको विकासमा स्थानीय निकायसंग संघले गरेको सहकार्य, संघको आयस्रोत वृद्धिका लागि प्रत्येक वर्षआयोजना हुने व्यापार मेला, शैक्षिक विकासमा संघले संचालन गरेका गतिविधिहरु निकै प्रभावकारी भएको र यस्ता गतिविधिहरु अन्य संघहरुका लागि पनि उदाहरणीय भएको बताउनु भयो ।
एक गाउं एक उत्पादन, इलम प्रशिक्षण केन्द्र, महिला सशक्तिकरण, घरेलु तथा लघु उद्यम जस्ता कार्यक्रममा महासंघले सदस्य संघहरुलाई सहभागी गर्राई लैजाने कार्यक्रम रहेको जानकारी पनि अध्यक्ष ढकालले गराउनु भयो । अध्यक्ष ढकालले स्थानीय तहमा उद्यमी व्यवसायीहरुले भोग्नु परेका विभिन्न समस्याहरुका विषयमा सरकार तथा राजनीतिक दलहरुलाई अवगत गराएको र आगामी आर्थिक वर्षो कार्यक्रममा समस्या समाधानका लागि ठोस कार्यक्रम ल्याउन आग्रह गरेको पनि बताउनु भयो ।
महासंघका उपाध्यक्षहरु कुशकुमार जोशी र आजाद श्रेष्ठ, कार्यकारिणी समिति सदस्यहरु डि.वी. वस्नेत, चन्द्र कृष्ण कर्माचार्य, श्याम सुन्दर उदास समेतको सहभागिता रहेको सो कार्यक्रममा लेखनाथ उवासंघका अध्यक्ष एवं प्रतिनिधिमण्डलका नेता अधिकारीले उद्योग व्यवसाय, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि क्षेत्रको विकास मार्फ स्थानीय जनताको जीवनस्तर सुधार, आर्थिक तथा व्यवसायिक विकासका क्षेत्रमा संघले हासिल गरेका अनुभव तथा यस्ता विषयहरुमा अन्य संघहरुको अनुभव आदान प्रदान गर्ने भ्रमणको उद्देश्य रहेको जानकारी गराउनु भयो ।
दीर्घकालिन आयस्रोतको खोजी, गुणस्तरी सेवा विकास, भगिनी सम्बन्ध विकास, सार्वजनिक निजी साझेदारी कार्यक्रममा संघहरुको अनुभव आदि विषयहरु माथि भ्रमणका क्रममा जिल्ला उवासंघहरुसंग व्यापक छलफल हुने र ती विषयहरुमा लेखनाथको अनुभव आदान प्रदान गर्ने कार्यक्रम रहेको उहांले स्पष्ट पार्नु भयो । अध्यक्ष अधिकारीले स्थानीय निकाय र दातृसंस्थाहरुको सहकार्यमा लेखनाथमा संचालित कार्यक्रमहरु निकै सफल भएको समेत बताउनु भयो ।
सो अवसरमा उद्योग वाणिज्य संघ, स्थानीय निकाय र जनता बीचको सम्बन्ध प्रगाढ पार्नु पर्ने, स्थानीय स्रोत र साधनको आधारमा उद्योग व्यवसायको विकास गर्नुपर्ने, जिल्ला उवासंघहरुले दिने सेवालाई गुणस्तरीय, प्रभावकारी र समयको माग अनुरुप बनाउनु पर्ने, संघहरुको विकासमा "टीम वर्क"को भावना अनुरुप अघि बढ्नु पर्ने, सार्वजनिक-निजी साझेदारी कार्यक्रममा विशेष जोड दिनुपर्ने आदि विषयमा छलफल भएको थियो ।