अन्तर्राष्ट्रिय व्यापारको क्षेत्रका कार्गो व्यवसायको अत्यन्त महत्वपूर्ण स्थान रही आएको र देशको निर्यात व्यापारलाई सहजिकरण गर्ने एक प्रमुख माध्यम पनि कार्गो व्यवसाय भएको परिप्रेक्ष्यमा आज २९ जुलाईको दिनलाई विश्वभर १३ औं कार्गो दिवसका रुपमा मनाउन लागेकोमा यसलाई सकारात्मक रुपमा लिदैं नेपाल उद्योग वाणिज्य महासंघले यस दिवसलाई निर्यात प्रवर्द्धनको क्रममा अवसरको रुपमा उपयोग गर्नु पर्ने आवश्यकता ठानेको छ ।
अन्तर्राष्ट्रिय व्यापारको क्रममा १००० किलोमिटर भन्दा बढी सतहमार्ग पार गरेपछि मात्र नेपालले बन्दरगाहको पहूच प्राप्त गर्न सक्ने र नेपालले मुख्य रुपमा प्रयोग गर्दै आएको भारतको हल्दिया-कलकत्ता बन्दरगाहको अत्याधिक खर्च तथा नेपाल-भारत सीमा भन्सारमा जांचपासमा हुने ढिलाईका कारण समेत सो बन्दरगाहमा सामान पुग्न ढिला हुंदा समयमा सिपमेन्ट हुन नसक्ने, भारत र चीनको बढ्दो निर्यातका कारण सिंगापुर एवं कोलम्बो बन्दरगाह अत्यन्त व्यस्त भई नेपाली उत्पादनले सिपमेन्टमा कम प्राथमिकता पाउने र कन्टेनरको समस्या हुने, नेपाली वस्तुको सिपमेन्टमा ढिलाई हुंदा नेपाली व्यवसायीले कलकत्ता-हल्दिया बन्दरगाहमा ठूलो मात्रामा ट्रक डिटेन्सन चार्ज तिर्नु पर्ने जस्ता समस्याले नेपाली सामान यूरोप पुग्न पहिलेको ३० दिनको तुलनामा ४५ दिन लाग्ने आदी कारण एकातिर नेपाली निर्यात वस्तुले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिनाई पर्न गई अन्तर्राष्ट्रिय बजार नै गुमाउनु परेको छ भने अर्को तर्फआयातित वस्तुहरुको मूल्य समेत बढी पर्न गईरहेको छ । यी विभिन्न कारणबाट तोकिएको समयमा सामान पठाउन नसक्दा निर्यात अर्डर नै रद्ध हुने गरेका कैयौं उदाहरण छन् । त्यसमाथि पनि विगत लामो समयदेखि भई आएको तराई आन्दोलन लगायत विभिन्न क्षेत्र र समूहबाट बारम्बार हुने गरेको बन्द, हड्ताल, चक्काजाम जस्ता कारणले सतह मार्गबाट हुने निर्यात व्यापार पूर्णतया धरासायी बनेको छ । यसबाट विशेषगरी देशको निर्यात व्यापार लगायत कार्गो व्यवसाय बढी प्रभावित भएको छ । यसरी निर्यात प्रभावित हुंदा देशको उद्योग व्यापार मात्र नभई रोजगारी, राजश्व लगायत वैदेशिक मुद्रा आर्जनमा समेत प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पर्न गएको छ ।
अन्तर्राष्ट्रिय व्यापारको क्षेत्रमा माल वस्तुको आयात निर्यात सरल, सहज एवं कम लागतमा गर्न कार्गो व्यवसायलाई प्रभावकारी बनाउनु अत्यन्त जरुरी छ । यसका लागि अन्तर्राष्ट्रिय विमान स्थललाई अन्तर्राष्ट्रिय व्यापारको आवश्यकतानुरुप भौतिक पूर्वाधारयुक्त बनाउनुका साथै कलकत्ता र मुर्म्बईको एयर ट्रान्जिटको व्यवस्था गर्नु, कार्गो व्यवसायलाई सेवा व्यवसायको मान्यता प्रदान गरी प्रोत्साहित गर्नु र नेपाल तथा भारत वीच द्विपक्षीय कार्गो सम्झौता गर्नु, वीरगञ्ज सुख्खा बन्दरगाहको प्रभावकारी उपयोग गर्ने व्यवस्था गर्नु, कार्गो व्यवसायलाई नीतिगत एवं प्रकृयागत सरलीकरण गर्ने जस्ता कार्गो व्यवसायिका आवश्यकता एवं मागहरुलाई समयमै सम्बोधन गर्नु पर्नेमा यस महासंघ नेपाल सरकार लगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराउंदछ ।
अन्तमा, १३ औं कार्गो दिवसको पूर्ण सफलताको साथै यस दिवसको उपलक्ष्यमा कार्गो व्यवसाय र कार्गो व्यवसायीको उत्तरोत्तर प्रगतिका लागि महासंघ हार्दिक शुभकामना व्यक्त गर्दछ ।