उद्योग वाणिज्य संघहरुको व्यवस्थापनलाई प्रभावकारी बनाउन कार्यशैलीमा सुधार, सदस्य लक्षित सेवामा जोड, सचिवालयको विकास, दीगो आर्थिक स्रोतको खोजी र समन्वयात्मक सम्बन्ध विकास जस्ता विषयहरुमा जोड दिनुपर्ने सुझाव विज्ञहरुको छ ।
विशेषगरी स्पष्ट लक्ष सहितको कार्य योजना तथा पदीय जिम्मेवारी लिएर बस्नेहरुको कार्य विवरण तथा त्यसको नियमित अनुगमन, चुस्त सचिवालयको व्यवस्था, कर्मचारीको मनोवल बढाउने आकर्ष योजना, पारदर्शी कार्यविधि, दीगो आर्थिक स्रोतको व्यवस्थापन, उपर्युक्त कार्यक्रमको पहिचान, आर्थिक कारोवारमा मितव्ययीता, स्थानीय सरकारी तथा गैर सरकारी संस्थाहरुसंगको सहकार्य जस्ता विषयहरुमा उद्योग वाणिज्य संघहरुले आफूलाई सशक्त रुपमा लैजान सकेमा ठूलो फड्को मार्न सक्ने धारणा विज्ञहरुको छ ।
उद्योग वाणिज्य संघहरुले यस्ता विषयहरुमा आफूलाई विशेष ध्यान दिएर जान नसक्दा उनीहरुले लक्षित उद्देश्य हासिल गर्न नसकेको वास्तविकता राख्दै उद्योग वाणिज्य संघहरुलाई स्पष्ट कार्य योजना सहित अघि बढ्न उहांहरुले जोड दिनु भयो ।
कंचनपुर उद्योग वाणिज्य संघका लागि नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा आज आयोजित संघ व्यवस्थापन तथा कार्ययोजना तर्जुमा गोष्ठीमा विज्ञहरुहरुले सो कुरामा जोड दिनु भएको हो ।
विभिन्न ११ भन्दा बढी उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमण सकि महासंघको सचिवालयमा संघका अध्यक्ष हेमराज पाण्डेयको नेतृत्वमा आएको २५ सदस्यीय व्यवसायिक प्रतिनिधिमण्डका लागि आयोजित सो गोष्ठीमा विज्ञहरुले संस्थाको विकास तथा दीगोपन हासिल गर्न दीर्घकालिन सोंच सहितको कार्यक्रम तर्जुमा, उद्यमी व्यवसायीहरुको आवश्यकता पहिचान तथा माग वमोजिमका कार्यक्रम संचालन गरी संघलाई अघि बढाउन जोड दिनु भयो ।
सो गोष्ठीको प्रारम्भमा स्वागत मन्तव्य दिनुहुंदै महासंघका तृतीय उपाध्यक्ष आजाद श्रेष्ठले विभिन्न संघहरुको अध्ययन अवलोकन भ्रमणबाट धेरै कुराको अनुभव आदान प्रदान गरी आएको प्रतिनिधिमण्डललाई संघका भावी कार्य योजना तर्जुमा गर्न यो कार्यक्रम निकै प्रभावकारी हुने विश्वास प्रकट गर्नु भयो ।
समयको माग अनुसार उद्योग वाणिज्य संघहरुले पनि आफ्नो कार्यशैलीमा व्यापक परिवर्तन गर्नुपर्ने खांचो औल्याउंदै उपाध्यक्ष श्रेष्ठले संघ व्यवस्थापनमा सफल उद्योग वाणिज्य संघहरुले अख्तियार गरेका योजनाहरुलाई कंचनपुर उद्योग वाणिज्य संघले पनि आफना भावी कार्ययोजनामा समावेश गर्ने विश्वास प्रकट गर्नु भयो ।
कार्य योजना गोष्ठीमा अध्ययन अवलोकन भ्रमणबाट प्राप्त अनुभवका विषयमा व्यापक विचार विमर्श गरी संघका भावी योजनाहरु स्पष्ट पार्न आग्रह गर्दै उहांले महासंघले यसमा आफनो स्रोत र साधनले भ्याएसम्म सहयोग गर्ने विश्वास दिलाउनु भयो ।
सो अवसरमा महासंघका समिति सभापतिहरु डी.वी. बस्नेत र लोक विक्रम थापाले चेम्वर अध्ययन अवलोकन भ्रमणबाट प्राप्त अनुभव तथा कार्य योजना गोष्ठीमा भएको विचार विमर्श पछि निस्कने निचोडबाट संघलाई आगामी दिनमा अझ बढी सशक्त र प्रभावकारी रुपमा अघि बढाउन मद्दत मिल्ने बताउनु भयो । उहांहरुले संघको विकासका लागि स्पष्ट लक्ष्य र योजना सहित अघि बढ्न सुझाव पनि दिनु भयो ।
संघका अध्यक्ष पाण्डेयको सभापतित्वमा आयोजना भएको सो कार्यक्रममा संघका निवर्तमान अध्यक्ष शीवराज पाण्डेयले उद्योग वाणिज्य क्षेत्रमा देखापरेका चुनौती तथा अवसरसंगै संघको संस्थागत विकास र सुदृढीकरणका लागि मध्यमाञ्चल तथा मध्यपश्चिमाञ्चल क्षेत्रका उद्योग वाणिज्य संघहरुले हासिल गरेका अनुभवहरु आदान प्रदान गर्ने उद्देश्यले आयोजित चेम्वर अध्ययन अवलोकन भ्रमणबाट खास गरी संघको दीगो आयस्रोत विकास तथा प्रभावकारी सचिवालय व्यवस्थापनमा ठूलो अनुभव भएको र यसमा लेखनाथ र भक्तपुर उवासंघबाट धेरै कुरा सिकेको बताउनु भयो ।
एक दिने सो गोष्ठीमा महासंघको वरिष्ठ परामर्शदाता गोविन्द देव पाण्डे र अर्का विज्ञ विमल पराजुलीले संघ व्यवस्थापनमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।