नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालको अध्यक्षतामा महासंघको सचिवालयमा आज बसेको स्थायी समितिको आकस्मिक वैठकले हालै देशका विभिन्न भागमा आएको बाढी पहिरोबाट जनधनको ठूलो क्षति हुनुको साथै करिव दुई लाख व्यक्ति विस्थापित भएकोमा गहिरो दुःख व्यक्त गर्दै यस प्रकारको विपत्तिमा परेकाहरुको राहत एवं उद्धारका लागि महासंघले छुट्टै राहत कोष खडा गरी सहयोग पुर्याउने निर्णय गरेको छ ।
सो प्रयोजनका लागि महासंघ एवं महासंघका पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरुबाट करिव रु.१२ लाख आजै संकलन भएको छ, जसमा महासंघबाट उपलब्ध गराउने रु.३ लाख, महासंघका सम्पूर्ण कर्मचारीहरुबाट दुई दिनको तलव बराबरको रकम रु. ५० हजार र गोल्छा अर्गनाइजेशनबाट रु. ५ लाख समेत समावेश छ । थप सहयोग जुटाउने प्रयास महासंघले जारि राखेको छ ।
उक्त वैठकले सो प्राकृतिक प्रकोपबाट पीडितहरुको सहयोगार्थ महासंघबाट आर्थिक सहयोग एवं राहत सामग्री सकृयतापूर्वक संकलन गरी सम्बन्धित जिल्ला/नगर उद्योग वाणिज्य संघ मार्फत सम्बन्धित ठाउंमा पुर्याउने व्यवस्था मिलाई सो कार्यमा सहयोग गर्न महासंघले आफ्ना सवै सदस्य संघ/संस्थाहरु लगायत सम्पूर्ण उद्योगी व्यवसायीहरुका साथै यस कार्यमा सहयोग गर्न चाहने अन्य संघ/संस्था एवं व्यक्तिहरुमा आव्हान गर्दै यस प्रयोजनको लागि कान्तिपथ, काठमाडौं स्थित ग्लोवल वैंक लि. मा खोलिएको नेउवामहासंघ-राहत कोष खाता नं. ०१०८०१०००५०५४ मा रकम जम्मा गरि महासंघलाई जानकारी गराउन र अन्य राहत सामग्री सहयोग गर्नु हुनेले सिधै महासंघको सचिवालयमा सम्पर्क राखी बुझाउन सकिने व्यवस्था मिलाउने समेत निर्णय गरेको छ ।
साथै आ-आफ्नो जिल्लामा दैवी प्रकोपमा परेकाहरुको उद्धारका लागि सम्बन्धित जिल्ला/नगर उद्योग वाणिज्य संघहरुले आपसी समन्वय गरी राहत कार्यलाई अघि बढाउन समेत उक्त वैठकले आग्रह गरेको छ ।