विगत एक दशकदेखि निरन्तर रुपमा सेवा पुर्याउंदै आएको एचबीसी एफएम व्यवस्थापन र कामदार पक्ष बीच उत्पन्न विवादका कारण विगत दश दिनदेखि बन्द रहेकोमा नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
कुनै पनि माग र समस्याको समाधान आपसी वार्ताको माध्यमबाट गरिनुपर्नेमा एक दशकदेखि निरन्तर रुपमा संचालित रेडियो जस्तो आमसंचारको संवेदनशील माध्यमको प्रशारण नै बन्द गरिनु कुनै पनि अवस्थामा न्यायोचित हुंदैन भन्ने महासंघको ठहर छ ।
मुलुक संविधानसभाको निर्वाचन तर्फअघि बढीरहेको अवस्थामा संविधानसभा निर्वाचनलाई पूर्ण रुपमा सफल पार्न आवश्यक वातावरण निर्माण गरी अघि बढ्न संचार माध्यमलाई सशक्त रुपमा परिचालन गर्नुपर्नेमा संचार माध्यमलाई नै बन्द गर्ने जस्ता कार्यले मुलुकले लिएको लक्ष पुरा नहुने हुंदा वार्ताको माध्यमबाट समस्या समाधान गरी एचबीसी एफएम तत्काल संचालन गर्ने वातावरण सृजना गर्न महासंघ नेपाल सरकार लगायत सम्बन्धित सबै पक्षसंग हार्दिक आग्रह गर्दछ ।