नेपालका लागि फ्रान्सका नव नियुक्त राजदूत गिल्स हेनरी गरल्ट (Gilles-Henry Garault) ले आज नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकाल र अन्य पदाधिकारीहरुसंग महासंघको सचिवालयमा भेटवार्ता गर्नु भयो ।
उक्त अवसरमा अध्यक्ष ढकालले नेपालको वर्तमान वस्तुस्थिति र शान्ति कायम गर्न यूरोपियन यूनियन लगायत फ्रान्स सरकारबाट प्राप्त सहयोगको सराहना गर्नु भयो ।
नेपाल-फ्रान्स बीचको दौत्य सम्बन्ध उत्कृष्ट भएपनि नेपालको फ्रान्ससंगको निर्यात व्यापार बढ्न नसकेको तर्फराजदुतको ध्यानाकर्षण गराउंदै अध्यक्ष ढकालले व्यापार प्रवर्द्धन एवं आर्थिक सहयोगको मार्ग विस्तार गर्न दुवै तर्फबाट उचित प्रयास गर्नुपर्ने कुरामा जोड दिनु भयो ।
उक्त अवसरमा राजदूत गरल्ट (Garault) ले नेपालको आर्थिक एवं उद्योग व्यवसाय विकासमा सघाउन फ्रान्स सधै तयार रहेको विश्वास दिलाउनु हुदै दीगो शान्ति नै अहिलेको आवश्यकता भएबाट यस विषयमा सबै पक्ष दृढताका साथ लाग्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।
नेपाल र फ्रान्स बीच पर्यटन विकासको प्रशस्त सम्भावना भएको र फ्रान्सेली उद्योगी व्यवसायीहरु फोहर व्यवस्थापन तथा विद्युत उत्पादन जस्ता क्षेत्रमा समेत लगानी गर्न इच्छुक रहेकोले सोही किसिमको वातावरण बनाउनु पर्ने कुरामा राजदुतले जोड दिनु भयो ।
महासंघका उपाध्यक्षहरु दिवाकर गोल्छा, कुशकुमार जोशी, आजाद श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरु रोहिणी थपलिया, वि.के. श्रेष्ठ, अखिल कुमार चापागाई, डि.वी. वस्नेत र नेपाल फ्रान्स उद्योग वाणिज्य संघका अध्यक्ष श्याम मोहन श्रेष्ठ र महासंघका कामु महानिर्देशक मेघनाथ न्यौपानेको उपस्थिति रहेको सो अवसरमा नेपालमा फ्रान्सेली पर्यटक प्रवर्द्धन गर्न एयर फ्रान्सको काठमाडौ-पेरीस हवाई सेवा संचालन, खानेपानी तथा केवुल कारको विकास, व्यापार मेला तथा प्रदर्शनीको आयोजना तथा द्विपक्षीय व्यवसायिक भ्रमणको आदान प्रदान लगायतका विषयमा विस्तृत छलफल भएको थियो ।