»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















स्याङ्जामा कृषिको व्यवसायिकरण र पर्यटन विकासका लागि पहल हुनु पर्ने (२०६४/५/१६)


पर्यटकीय एवं धार्मिक स्थलका साथै जलविद्युत, तरकारी एवं फलफूल तथा नगदेबालि लगायतका कृषि उपजको प्रशस्त संभावना भएर पनि आर्थिक एवं प्राविधिक सहयोगको कमिले संभावनाको उपयोग हुन नसकेकोमा स्याङजाका उद्योगी व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकाल एवं अन्य पदाधिकारीहरुसंग मध्यमाञ्चलका विभिन्न उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमणका क्रममा स्याङजा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष सु कृष्णमान श्रेष्ठको नेतृत्वमा आएको सो संघका पदाधिकारी एवं सदस्यहरु सम्मिलित १८ सदस्यीय प्रतिनिधिमण्डलद्वारा महासंघको सचिवालयमा गरेको भेटघाट एवं छलफलमा उक्त चिन्त्ता व्यक्त गरिएको हो ।

उक्त अवसरमा सो प्रतिनिधिमण्डलले २०१३ सालमा स्थापित सो संघद्वारा गत वर्षआफ्नो स्वर्ण महोत्सवको उपलक्ष्यमा स्याङ्जा महोत्सव आयोजना गरिनुका साथै जिल्लाको औद्योगिक व्यवसायिक लगायत सामाजिक सेवाको क्षेत्रमा सक्दो योगदान पुर्‍याई आएको प्रकाश पार्दै कफि र सुन्तलाको विकासका लागि सहयोग हुनु पर्ने र एक गाउँ एक उत्पादन कार्यक्रमले स्याङ्जालाई समेत समेट्नु पर्ने धारणा राखेको छ ।

त्यसैगरी उक्त प्रतिनिधिमण्डलले राजमार्गको दायां वायां २५ कि.मी. खाली गर्नुपर्ने प्रावधानले कैयौं घर परिवार एवं व्यवसाय नै विस्थापित हुने देखिएकोले यस सम्बन्धमा गम्भिरतापूर्वक विचार गर्नु पर्ने आवश्यकता जोड दिएको छ ।

महासंघका अध्यक्ष ढकालले सो प्रतिनिधि मण्डललाई सम्बोधन गर्नु हुंदै भ्रमणबाट संभाव्य वस्तुको विकास, राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा वस्तु विविधिकरण एवं लगानीको अवसर जुटाउन, स्थानीय श्रोत र साधनको परिचालनमा सहयोग पुग्ने धारणा व्यक्त गर्नु भयो ।

साथै उहांले स्थानीय महत्व र अन्तर्राष्ट्रिय बजारको संभावनाका साथै तुलनात्मक लाभ भएका वस्तुलाई एक गाउँ एक उत्पादनको रुपमा विकास गर्न सकिने उल्लेख गर्नु हुदै र्सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरुप स्थानीय विकास निर्माणका कार्य अघि बढाउन र समस्या सुल्झाउन जिल्ला संघहरुलाई आग्रह गर्नु हुदै राजमार्गको दायां बायां २५ कि.मी. समस्या बारे सरकारले विकास निर्माण गर्दा जनताको सकेसम्म क्षति नपुग्ने गरी निर्माण गर्नु पर्ने र सो समस्या बारे राजनीतिक दल एवं नागरिक समाजको पहलमा समेत समाधान गर्नु पर्ने विचार व्यक्त गर्नु भयो ।

महासंघका द्वितीय उपाध्यक्ष कुशकुमार जोशीले मानव वस्ती र औद्योगिक व्यवसायिक संरचनालाई नकारात्मक प्रभाव नपर्ने किसिमले राजमार्ग निर्माण गर्नु पर्ने तथा तुलनात्मक लाभ भएका वस्तुको पहिचान गरि एक गाउं एक उत्पादनको रुपमा विकास गरिनुका साथै कृषिको अधिकतम व्यवसायिकरण गर्नुपर्नेमा जोड दिनु भयो ।

तृतीय उपाध्यक्ष आजाद श्रेष्ठले महासंघको संस्थापक मध्येको एक र सकृय सदस्य स्याङजा जिल्ला उवासंघले चेम्बर आन्दोलनमा पुर्‍याई आएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नु हुदै जिल्लाका संघहरुले सम्पूर्ण उद्योगी व्यवसायिलाई प्रभावकारी रुपमा समेटी अघि बढाउन विभिन्न स्थानमा छरिएका औद्योगिक व्यवसायिक क्षेत्रलाई जिल्ला संघको नेतृत्वमा समिति गठन गरेर पनि समेटेर कार्य गर्नु पर्ने विचार व्यक्त गर्नु भयो ।

महासंघका समिति सभापति डी.वी. बस्नेत र लोक विक्रम थापाले संघले कृषि समिति गठन गरि कार्य गर्नुपर्ने तथा योजनाबद्ध रुपमा कार्यक्रमलाई अघि बढाउनु पर्नेमा जोड दिनु भयो ।

उक्त अवसरमा उद्योग वाणिज्य संघ, इटहरीका अध्यक्ष टंक प्रसाद दुलाल महासंघका वरिष्ठ परामर्शदाता गोविन्ददेव पाण्डे र कृषि उद्यम केन्द्रका कार्यकारी निर्देशक डा. देवभक्त शाक्यको समेत उपस्थिति थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.