नेपाल र जनवादी गणतन्त्र चीनको ग्वाङसी प्रान्त बीच जलविद्युत, पूर्वाधार विकास तथा कृषिजन्य उद्योगहरुमा संयुक्त लगानीको ठूलो संभावना रहेको कुरा त्यस क्षेत्रका व्यवसायीहरुले बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं नेपाल चीन गैर सरकारी सहयोग मंचका संयोजक कुशकुमार जोशी र चीनको ग्वांङसी प्रान्तस्थित अन्तर्राष्ट्रिय व्यापार प्रबर्द्धनका लागि चिनियां उपपरिषद् (China Council for Promotion of International Trade-CCPIT) का उपाध्यक्ष सुन जीआनक्वी (Sun Jianqiu, Vice Chairman) को नेतृत्वमा नेपाल आएको नौ सदस्यीय चिनियां प्रतिनिधिमण्डल बीच आज महासंघको सचिवालयमा भएको बैठकमा सो कुरा बताइएको हो ।
नेपालमा जलविद्युत, सडक र कृषिजन्य उत्पादनहरुको क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको र करिव ७ अर्व विदेशी लगानी भित्र्याई सकेको ग्वांङसी प्रान्तमा पनि यी क्षेत्रहरु लगानीका लागि प्रमुख प्राथमिकताका क्षेत्रहरुमा रहेकाले संयुक्त लगानीको ठूलो संभावना रहेको उक्त वैठकमा सो प्रतिनिधिमण्डलले स्पष्ट पार्यो ।
नेपालमा विदेशी लगानी तथा कर सम्बन्धी नीतिगत व्यवस्थाका सम्बन्धमा अध्ययन गर्न आएको उक्त प्रतिनिधिमण्डलसंग भएको छलफलमा आर्थिक विकासमा निरन्तर रुपमा अघि बढ्दै गएको ग्वाङंसी प्रान्त र नेपाल बीचको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार एवं व्यापार घाटा कम गर्न सकिने संम्भाव्यताका विषयमा विस्तृत छलफल भयो ।
उक्त प्रतिनिधिमण्डललाई स्वागत गर्नुहुंदै महासंघका उपाध्यक्ष जोशीले नेपाल र चीन बीचको आर्थिक तथा व्यावसयिक सम्बन्ध विस्तारमा दुवै देशका निजी क्षेत्रबाट भएको प्रयास उदाहरणीय रहेको र यस क्रममा सन १९९६ मा स्थापित नेपाल चीन गैर सरकारी सहयोग मंच उत्कृष्ट उदाहरण भएको स्पष्ट पार्नु भयो ।
उपाध्यक्ष जोशीले द्विपक्षिय आर्थिक तथा व्यवसायिक सम्बन्ध विस्तारका लागि संयुक्त रुपमा कार्य गर्न महासंघले सीसीपीआइटीसंग सन् २००२ मा एक सम्झौता गरेको स्मरण गर्दै दुवै संस्थाले द्विपक्षीय आर्थिक सम्बन्ध विस्तारमा ठूलो महत्व दिएको बताउनु भयो ।
उपाध्यक्ष जोशीले द्विपक्षीय व्यापार घाटा कम गर्नमा जोड दिनु भयो । नेपालमा कृषिजन्य उत्पादन, औषधि, खनिजजन्य उत्पादन जस्तै ग्यांस, रसायनिक मल, पूर्वाधार निर्माण, पर्यटन, वनजन्य उद्योग, बैकिङ, अन्य सेवामुलक क्षेत्रमा चिनियां लगानीको ठूलो संम्भावना रहेकोले यी क्षेत्रहरुमा लगानीका लागि आग्रह गर्दै महासंघले यसमा आफनो तर्फाट सक्दो सहयोग गर्नेमा जोड दिनु भयो ।
सो अवसरमा चिनियां प्रतिनिधिमण्डलका नेता एवं सीसीपीआइटी ग्वाङ्गसी उपपरिषद्का उपाध्यक्ष सुनले व्यापार घाटा कम गर्न आफनो संस्थाले सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो । ग्वांसी प्रान्त आर्थिक विकास तर्फतीव्रतर रुपमा अघि बढेको भएपनि अन्य प्राप्तको तुलनामा विकासको चुलीमा नपुगी सकेको उल्लेख गर्नु हुंदै आर्थिक विकासमा ग्वांसीको अनुभव वांड्न आफूहरु तयार रहेको बताउनु भयो ।
यसका लागि व्यावसायिक भ्रमणको आदान प्रदान, व्यापारिक मेला महोत्सवमा सहभागिता र निरन्तर सम्पर्क विस्तार आदिमा जोड दिंदै ग्वांसीमा आएर नेपाली उत्पादनहरुको प्रदर्शनी गर्न पनि सल्लाह दिनु भयो । उहांले ग्वांसी प्रान्तमा विश्वको तेस्रो ठूलो जलविद्युत परियोजना निर्माण भैरहेको जानकारी दिनु हुंदै नेपाली पक्षको जिज्ञासामा चीनमा मुल्य अभिवृद्धि करको सफलता सम्बन्धमा प्रकाश पार्नु भयो ।
सो अवसरमा महासंघका तर्फबाट नेपालको वैदेशिक लगानी तथा विभिन्न करहरु सम्बन्धी नीतिगत व्यवस्थाका विषयमा विस्तृत जानकारी गराइएको थियो ।
कार्यक्रमको अन्त्यमा महासंघका कामु महानिर्देशक मेघनाथ न्यौपानेले द्विपक्षीय सम्पर्क, भेटघाट र संवाद निरन्तर हुनुपर्नेमा जोड दिनुहुंदै महासंघको तर्फबाट सक्दो सहयोग हुने विश्वास दिलाउनु भयो ।