नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालले देशमा दीगो र स्थायी शान्ति स्थापनाका साथै नयां नेपाल निर्माणका लागि निर्धारित समयमै संविधान सभाको निर्वाचन हुनु पर्ने तथा यसका लागि सवै क्षेत्रले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नु हुदै निजी क्षेत्रबाट सक्दो सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
डडेलधुरा उद्योग वाणिज्य संघको २० औं वाषिर्क साधारण सभाको हिजो डडेलधुरामा उद्घाटन गर्नुहुदै प्रमुख अतिथि ढकालले उक्त प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।
निजी क्षेत्र र सरकार एक अर्काका परिपूरक भएकाले निजी क्षेत्रका समस्या प्रति पनि सरकार संवेदनशील हुनु पर्नेमा जोड दिनु हुदै निजी क्षेत्र समृद्ध नभएसम्म देशमा स्थिरता कायम हुन कठिनाई पर्ने धारणा व्यक्त गर्नु भयो ।
साथै उहांले सरकारले निजी क्षेत्रका समस्या समाधानका लागि व्यक्त गरेका प्रतिवद्धताहरुलाई कागजमा मात्र सिमित नराखी व्यवहारमै कार्यान्वयन गर्नुका साथै उद्योग व्यवसाय माथिको अनेकन दवाव एवं डर त्रास तथा अशान्ति र असुरक्षाको अन्त गरी अनुकूल औद्योगिक व्यवसायिक वातावरणका साथ आर्थिक क्रियाकलाप विस्तार एवं रोजगारी प्रवर्द्धनका लागि प्रोत्साहित गर्नु पर्नेमा जोड दिनु भयो ।
अध्यक्ष ढकालले आर्थिक विकासको आधार निजी क्षेत्र भएकोले यस क्षेत्रको गतिशिलता विना मुलुकको आर्थिक विकास हुन नसक्ने भएकोले सरकार एवं राजनीतिक दलहरुले राजनीतिक एजेण्डासंग संगै आर्थिक एजेण्डालाई समेत अघि बढाएर लानु पर्ने आवश्यकता टड्कारो रहेको उल्लेख गर्नु भयो ।
स्थानीय निकाय र नागरिक समाज समेतको सहभागितामा संघले स्थानीय आर्थिक विकासका कार्यहरुलाई अघि बढाउन नेतृत्वदायी भूमिका खेल्न सक्ने उल्लेख गर्नु हुदै र्सार्वजनिक निजी साझेदारी अनुरुप आर्थिक विकासका कार्यक्रमहरुलाई कार्यान्वयन गर्न महासंघले जोड दिई आएको उल्लेख गर्नु भयो ।
महासंघको सामाजिक सेवा समितिका सभापति लोक विक्रम थापा र सह सभापति गुणनीति तिवारी लगायत विभिन्न जिल्ला उवासंघका अध्यक्षहरुले सो अवसरमा साधारण सभाको सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।
उद्योग वाणिज्य संघ, बुटवलका अध्यक्ष नवराज श्रेष्ठ, उद्योग वाणिज्य संघ, नवलपरासीका अध्यक्ष वीरेन्द्र कुमार अग्रहरी, सिर्द्धार्थनगर उवासंघका अध्यक्ष कृष्णप्रसाद शर्मा, गुलरिया उवासंघका अध्यक्ष राजेन्द्र प्रसाद कंडेल, कञ्चनपुर उवासंघका अध्यक्ष हेमराज पाण्डेय, अछाम उवासंघका अध्यक्ष खगेन्द्र प्रसाद ढुंगाना, कैलाली उवासंघका उपाध्यक्ष शिवलाल भण्डारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि एवं कार्यालय प्रमुख र पत्रकारहरुको सो समारोहमा उपस्थिति रहेको थियो ।
संघका अध्यक्ष लोकराज भट्टको सभापतित्वमा सम्पन्न सो सभामा विभिन्न जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्ष एवं राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले आ आफ्नो मन्तव्य व्यक्त गर्नु हुदै सभाको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
समारोहका प्रमुख अतिथि अध्यक्ष ढकाल एवं अतिथिहरुलाई डडेलधुरा उवासंघका प्रथम उपाध्यक्ष हेमराज पन्तले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।