नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालले टिकापुर नगर उद्योग वाणिज्य संघको आठौ वाषिर्क साधारण सभाको आज एक समारोह वीच टिकापुरमा उद्घाटन गर्नु हुदै द्वन्दको प्रभावबाट उद्योगधन्दाहरु धरासायी भईरहेका र यो अवस्थामा सुधार नआए ठूलो संकट पर्न सक्ने हुंदा देशमा दीगो र स्थायी शान्ति स्थापनाको लागि निर्धारित समयमा नै संविधान सभाको निर्वाचन हुनु पर्नेमा जोड दिनु भयो ।
साथै प्रमुख अतिथि ढकालले लोकतान्त्रिक आन्दोलनमा निजी क्षेत्रको महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्नु हुदै संविधान सभाको निर्वाचन जस्तो राष्ट्रिय सवालको कार्यलाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्न महासंघ लगायत सम्पूर्ण निजी क्षेत्र कटिवद्ध रहेको कुरा उल्लेख गर्नु भयो ।
देशमा द्वन्दका कारण धरासायी हुंदै गएको उद्योग व्यवसाय लगायत आर्थिक गतिविधिलाई गति दिन सरकार एवं राजनीतिक दलहरुले सकृय पहल गर्नु पर्ने उल्लेख गर्नु हुंदै दीगो र स्थायी शान्ति विना यस क्षेत्रले गति लिन नसक्ने र अशान्ति र असुरक्षाको अन्त पनि नहुने देखिएकाले संविधान सभाको निर्वाचनको लागि सवै क्षेत्रबाट सहयोग गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।
महासंघका समिति सभापति लोक विक्रम थापा, सह सभापति गुणनीति तिवारी र पूर्व सांसद गंगा बहादुर कुंवर लगायत विभिन्न जिल्ला उवासंघका अध्यक्षहरुले साधारण सभाको सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।
संघका अध्यक्ष राजकुमार हमालको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा उद्योग वाणिज्य संघ, बुटवलका अध्यक्ष नवराज श्रेष्ठ, उद्योग वाणिज्य संघ, नवलपरासीका अध्यक्ष वीरेन्द्र कुमार अग्रहरी, सिर्द्धार्थनगर उवासंघका अध्यक्ष कृष्णप्रसाद शर्मा, गुलरिया उवासंघका अध्यक्ष राजेन्द्र प्रसाद कंडेल, अछाम उवासंघका अध्यक्ष खगेन्द्र प्रसाद ढुंगाना, कैलाली उवासंघका उपाध्यक्ष शिवलाल भण्डारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि एवं कार्यालय प्रमुख र पत्रकारहरुको सो समारोहमा उपस्थिति रहेको थियो ।
सो सभाले संघको आ.व. २०६३/६४ को रु. ११ लाख २४ हजार ४ स य ६५ रुपैया १८ पैसा र आ.व. ०६४/६५ को अनुमानित रु. ११ लाख ६३ हजार ७ सय ३४ रुपैया १८ पैसाको आय व्यय पारित गरेको छ ।