नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा उद्योग वाणिज्य संघ-नारायणगढको आतिथ्यतामा नारायणी अचंलभित्रका उद्योग वाणिज्य संघहरुको अंचलस्तरीय भेला विभिन्न प्रस्तावहरु पारित गर्दै हिजो चितवनमा सम्पन्न भयो ।
सो भेलाले कवाडी कर, औद्योगिक शुरक्षा बल, श्रम ऐन, अन्तर्राष्ट्रिय विमानस्थल, हेटौडा-काठमाण्डौं द्रुतमार्ग, स्थानिय कर, सरसफाई शुल्क र कृषि तथा वन विश्वविद्यालय सम्बन्धमा विभिन्न प्रस्तावहरु पारित गरेको छ ।
उक्त भेलाको उद्घाटन समारोहलाई संवोधन गर्नुहुंदै प्रमुख अतिथि एवं महासंघका अध्यक्ष चण्डिराज ढकालले उद्योग व्यवसायको विकास विना राजनीतिक स्थायीत्व सम्भव नहुने हुंदा आर्थिक गतिविधि विस्तार गर्ने वातावरण बनाउन सरकार तथा राजनीतिक दलहरुलाई आग्रह गर्नु भयो । बदलिंदो परिस्थितिमा निजी क्षेत्र प्रतिस्पर्धी हुनु पर्ने र निजी क्षेत्र एक ढिक्का भएर हिड्नु पर्नेमा पनि उहांले जोड दिनु भयो ।
नारायणी अंचल भित्र उद्योग व्यवसायको विकासमा उद्योग वाणिज्य संघहरुले खेलेको भूमिका प्रभावकारी भएको बताउंदै अध्यक्ष ढकालले यस अंचल भित्रका उद्योग वाणिज्य संघहरुको संस्थागत विकासमा उद्योग वाणिज्य संघ नारायणगढ र वीरगन्ज उद्योग वाणिज्य संघको भूमिकाको प्रशंसा गर्नु भयो ।
सो अवसरमा अध्यक्ष ढकालले वीरगन्ज उद्योग वाणिज्य संघको नयां कार्य समितिको १ सय दिन पुगेको उपलक्ष्यमा प्रकाशित पुस्तकको विमोचन गर्नु भयो ।
उद्घाटन समारोहमा महासंघका निवर्तमान अध्यक्ष बिनोद बहादुर श्रेष्ठ, पूर्व अध्यक्ष आनन्दराज मुल्मी र द्वितिय उपाध्यक्ष एवं नारायणी अंचल प्रतिनिधि कुश कुमार जोशीले उद्योग व्यवसाय क्षेत्रले भोग्नु परेका विभिन्न समस्याहरु समाधन गरी अघि बढ्न सामूहिक सहकार्यमा जोड दिनु भयो । साथै उहांहरुले नारायणी अंचल भित्रका उद्योग व्ाणिज्य संघहरुले उद्योग व्यवसाय विकासमा खेलेको भूमिका अन्य क्षेत्रका संघहरुका लागि पनि उदाहरणीय रहेको बताउनु भयो ।
महासंघको कार्यकारिणी समितिका सदस्यहरु भाष्करराज राजकणिर्कार, प्रदिपजंग पाण्डे, चन्द्रकृष्ण कर्माचार्य, रमेशकुमार पिया र घरेलु तथा साना उद्योग महासंघ नेपालका अध्यक्ष आङदण्डी शेर्पाले अंचलभेलाको सफलताको कामना गर्नु भयो ।
नारायणी अंचल भित्रका ६ वटै उद्योग वाणिज्य संघका अध्यक्ष एवं पदाधिकारीहरुको सहभागिता रहेको उक्त भेलाको उद्घाटन समारोहमा पोखरा, लेखनाथ, तनहुं, धादिङ, गोरखा लगायतका उद्योग वाणिज्य संघका अध्यक्ष, पूर्व अध्यक्ष एवं पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।
सो कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ सहायक रमेशमान श्रेष्ठ र उद्योग वाणिज्य संघ-नारायणगढकी का.मु.कार्यकारी सचिब श्रीमती अमृता अधिकारी (बराल) लाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघलेरौतहट उद्योग वाणिज्य संघलाई एक थान प्रिन्टर हस्तान्तरण गरेको थियो ।
भेलाको दोश्रो सत्र महासंघका द्वितीय उपाध्यक्ष एवं नारायणी अंचल प्रतिनिधि कुश कुमार जोशीको सभापत्विमा सम्पन्न भएको थियो । २०६४ मंसीर भित्र नारायणी अंचल स्तरिय अर्को भेला गर्ने निर्णय गर्दै भेलामा क्रमश रत्ननगर, बीरगन्ज, बारा, हेटौडा, रौतहट र नारायणगढ उद्योग वाणिज्य संघका अध्यक्षहरुले आ-आफ्ना संघका गतवर्षा प्रगति तथा चुनौतीहरु बारे जानकारी दिनु भएको थियो ।
कार्यक्रमको अन्त्यमा उद्योग वाणिज्य संघ-नारायणगढका अध्यक्ष उदयकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।