देशका विभिन्न भागमा गएको बाढी पहिरोबाट पीडितहरुको सहयोगार्थ नेपाल जर्मन उद्योग वाणिज्य संघ मार्फत ओम निटिङ इण्डष्ट्रिज प्रालिले नेपाल उद्योग वाणिज्य महासंघलाई करिव रु १ लाख बराबरको स्वेटर आज हस्तान्तरण गरेको छ ।
महासंघका अध्यक्ष चण्डिराज ढकाललाई उक्त रकम बराबरको २ सय थान स्वेटर सो संघका अध्यक्ष रोहिणी थपलियाले हस्तान्तरण गर्नु भयो । ओम निटिङ इण्डष्ट्रिज महासंघ र नेपाल जर्मन उद्योग वाणिज्य संघको सदस्य हो ।
सो अवसरमा महासंघका अध्यक्ष ढकालले सामाजिक भावनाले वाढी पिडीतहरुको सहयोगका लागि ओम निटिङ इण्डष्ट्रिजले उपलव्ध गराएको राहत सामग्री पिडीतहरुका लागि अत्यन्त उपयोगी हुने उल्लेख गर्दै त्यसका लागि धन्यवाद दिनु भयो । वाढी प्रभावित क्षेत्रका जनताहरु अहिले विभिन्न समस्यामा परेको तर्फचिन्ता व्यक्त गर्दै अध्यक्ष ढकालले राहत सामग्री छिट्टै सम्बन्धित क्षेत्रमा पुर्याइने जानकारी दिनु भयो ।
नेपाल जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष थपलियाले प्राकृतिक विपत्तिमा परेकाहरुका लागि महासंघ मार्फ सहयोग गर्न पाएकोमा खुशी प्रकट गर्दै यस्ता सामाजिक कार्य आगामी दिनमा पनि जारी रहने बताउनु भयो ।
महासंघले बाढी पहिरो पिडीतहरुको सहयोगार्थ संचालन गरेको राहत सामग्री संकलन अन्तरगत हालसम्म करिव रु ३६ लाख नगद तथा लत्ता कपडा, खाद्य वस्तु संकलन भएको र संकलित नगद तथा राहत सामग्री बाढी प्रभावित क्षेत्रसम्म पुर्याइसकेको छ भने प्रतिवद्धता अनुरुप अझै सहयोग रकम प्राप्त हुने क्रम जारी छ ।
महासंघले यसअघि राहत सहयोग एवं सामग्री वितरणका लागि पीडित क्षेत्रलाई ५ समूहमा विभाजन गरी सम्बन्धित जिल्लाका महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघ तथा त्यस क्षेत्रका कार्यकारिणी समिति सदस्य समेतको समन्वय र जिम्मेवारीमा वितरण गर्ने कार्यक्रम अनुसार भाद्र १० गते एक कार्यक्रम बीच उहांहरुलाई नै हस्तान्तरण गरेको थियो ।
राहत एवं उद्दारका लागि सहयोग पुर्याउन नेपाल उद्योग वाणिज्य महासंघले तत्कालै छुट्टै राहत कोष खडा गरी सहयोगका लागि आव्हान गरे अनुरुप हालसम्म प्राप्त सहयोग रकम एवं राहत सामग्रीहरु जुर्टाई सहयोग गर्ने कार्यमा महासंघ सकृय रही आएको छ ।
महासंघको कार्यकारिणी समितिका सदस्य सुरज वैद्यको संयोजकत्वमा उक्त प्रयोजनका लागि "नेउवामहासंघ-राहत संकलन एवं वितरण समिति" गठन गरिएको थियो ।
कार्यक्रममा महासंघ-रोजगारदाता परिषद्का सभापति एवं पदेन उपाध्यक्ष रविन्द्र श्रेष्ठ, महासंघको व्यापार तथा प्रदर्शनी समितिका सभापति एजी शेर्पा, उत्पादकत्व तथा गुणस्तर समितिका सहसभापति अनुपबहादुर मल्ल, ओम निटिङ इण्डष्ट्रिज प्रालिका अध्यक्ष वासुदेव गौतम र नेपाल जर्मन उवासंघका कार्यकारिणी समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।