कपिलवस्तु जिल्लामा गत आइतवार लोकतान्त्रिक मधेशी मोर्चाका नेता अव्दुल मोइत खांको हत्याको घटनापछि सो जिल्ला लगायत रुपन्देही र अन्य ठाउंमा बढ्दै गएको दंगा र त्यसबाट भएको ठूलो जनधनको क्षत्रि प्रति नेपाल उद्योग वाणिज्य महासंघ अत्यन्त चिन्तित भएको छ । महासंघले ती घटनाप्रति गहिरो दुःख प्रकट गर्दै घटनाको तत्काल नियन्त्रण गर्न नेपाल सरकार समक्ष आग्रह गरेको छ ।
कपिलवस्तु र रुपन्देही लगायतका ठाउँमा भएको त्यस प्रकारका अमानविय घटनाको घोर भर्त्सना गर्दै त्यस्ता घटनाको पछि नलागी तत्काल धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्दै राष्ट्रलाई थप वर्वादी हुनबाट बचाउन निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघले सबै नेपाली दाजुभाई दिदी बहिनीमा हार्दिक अपिल गरेको छ ।
सोही घटनाका विषयमा आज महासंघको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष चण्डिराज ढकालले धार्मिक तथा सामाजिक सद्भाव खलल पार्ने यस्ता घृणित घटनालाई शीघ्र अन्त गर्ने कार्यमा सहयोग गर्न महासंघका सदस्य लगायत सम्पूर्ण निजी क्षेत्र, राजनीतिक दलहरु, गैर सरकारी संघ/संस्था एवं नागरिक समाजसंग जोडदार आग्रह गर्नु भयो । र्
दर्जनौ मानिस मारिएका, हजारौ घर र पसलहरु आगलागीबाट नष्ट भएका, दशहजार भन्दा बढी मानिस घरवार विहीन भएका र एक अर्वभन्दा बढी व्यक्तिगत सम्पत्ति नष्ट भएको जानकारी प्राप्त भएको उल्लेख गर्नुहुंदै अध्यक्ष ढकालले आम जनमानस एवं उद्योगी व्यवसायी त्राहिमामको अवस्थामा रहेकाले घटनाको नियन्त्रण गर्ने कार्यमा मुख्य रुपमा सरकारले प्रमुख भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु भयो ।
विगतमा ऋतिक रोशन तथा इराक काण्डबाट काठमाडौं लगायत अधिराज्यका विभिन्न भागमा घटेका घटना समेतलाई मनन गरी दाङमा समेत विस्तार भएको उक्त घटनाले भोली सृजना गर्न सक्ने गम्भीर परिस्थिति प्रति समयै सचेत रहन सरकारको ध्यानाकर्षा गराउनु भयो ।
महासंघले विगतमा द्वन्द समाधान एवं राजनीतिक स्थायीत्वका लागि यस्ता घटनाबाट मुलकवासी बीच आपसी सदभावमा खलल नपुगोस भनी संपूर्ण निजी क्षेत्रको सहभागितामा शान्ति एवं सदभाव र्याली जस्ता कार्यक्रम समेत सम्पन्न गरेको स्मरण पनि उहांले गर्नु भयो ।
अध्यक्ष ढकालले उक्त घटनामा मृत्यु हुनेहरुका पारिवारलाई क्षतिपूर्ति दिनु पर्ने, घाइतेहरुलाई निःशुल्क उपचार र पीडितहरुको लागि उचित क्षतिपूर्ति तत्काल व्यवस्था गर्न पनि सरकारसंग आग्रह गर्नु हुंदै उक्त घटनाको छानविनका लागि गठित न्यायिक आयोगले यथार्थ वस्तुस्थिति छिट्टै प्रस्तुत गर्ने विश्वास गर्नु भयो ।
साथै राजनीतिक रुपमा मुलुक नयां दिशातर्फअघि बढीरहेको र संविधानसभाको निर्वाचनबाट आशाको नयां किरण देखापर्ने परिस्थिति निर्माण भैरहेको अवस्थामा हालैका दिनमा भएका यस्ता घटना, पेट्रोलियम पदार्थको अभाव तथा सरकारमा देखिएको उतारचढावबाट मुलुकले अवका दिनमा अझ बढी कठिनाईको सामना गर्नुपर्ने हो कि भन्ने चिन्ता निजी क्षेत्रमा भएको पनि स्पष्ट पार्नु भयो । उहांले जुनसुकै घटनाबाट पनि निजी क्षेत्र नराम्ररी सताइने गरेकाले यस्तो अवस्था आइरहेमा आगामी दिनमा निजी क्षेत्र कठिन बाटो लिन बाध्य हुने बताउनु भयो ।
देशमा महिनौदेखि पेट्रोलियम पदार्थको हाहाकार भई सामान्य जनजीवनदेखि संपूर्ण आर्थिक गतिविधि प्रभावित हुंदा पनि राज्य गम्भीर नभएकोमा चिन्ता व्यक्त गर्नुहुंदै तत्काल पेट्रोलियम पदार्थको पर्याप्त आपर्ूर्ति गर्न आवश्यक उपाय अवलम्वन गर्नुपर्नेमा पनि अध्यक्ष ढकालले जोड दिनुभयो ।