दोलखा जिल्लाको आर्थिक विकासको लागि प्रचूर सम्भावना भएका पर्यटन, कृषिजन्य तथा बनजन्य उद्योग व्यवसाय, साना तथा लघु उद्यम र महिला उद्यमशीलताका साथै उद्योग वाणिज्य संघको संस्थागत विकास एवं थप सुदृढिकरण जस्ता भावि कार्य योजना तर्जुमा गरी अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न दोलखा उद्योग वाणिज्य संघका पदाधिकारी एवं सदस्यहरु सक्रियतापूर्वक लागि परेका छन् ।
सोही क्रममा विभिन्न जिल्ला/नगर उद्योग वाणिज्य संघका गतिविधिहरुको अध्ययन अवलोकन गर्नुका साथै अन्य जिल्लाका संघसंगको आपसी सर्म्पर्क विस्तार तथा अनुभवको आदान प्रदान गरी सो कार्ययोजना तयार गर्न अनुभव संगाल्ने उद्देश्यले दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष रामेश्वर मानन्धरको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डलले राजधानीका विभिन्न जिल्ला उद्योग वाणिज्य संघहरुका साथै लेखनाथ, स्यांग्जा, पोखरा, बाग्लुंग, वालिंग, पर्वत, म्याग्दी उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकनका साथै भक्तपुर उद्योग वाणिज्य संघमा आयोजित योजना तर्जुमा कार्यशाला गोष्ठी समेत सम्पन्न गरी हिजो नेपाल उद्योग वाणिज्य महासंघमा आयोजित अन्तरक्रियामा भाग लियो ।
महासंघका तृतीय उपाध्यक्ष आजाद श्रेष्ठले उक्त प्रतिनिधिमण्डलको स्वागत गर्नु हुंदै आर्थिक विकासको प्रशस्त सम्भावना भएको दोलखा जिल्लाको विकासको लागि संघले स्थानीय श्रोत र साधनको अधिकतम उपयोग गर्ने कार्यमा सदस्यहरुका साथै स्थानीय जनतालाई उत्प्रेरित गर्नु पर्ने र स्थानीय विकास निर्माणलाई स्थानीय निकाय, राजनीतिक दलहरु र नागरिक समाज समेतसंगको सहकार्यमा र्सार्वजनिक-निजी साझेदारी अवधारणा अनुरुप सक्रियता साथ अघि बढाउनु पर्नेमा जोड दिनु हुंदै यसरी गरिने कामले निश्चित सफलता पाउनुको साथै दीगो समेत हुने सुझाव दिनु भयो ।
कपिलबस्तु तथा रुपन्देहीमा घटेको घटना प्रति चिन्ता व्यक्त गर्नु हुंदै उपाध्यक्ष्ँ श्रेष्ठले सो घटनाको सामान्यिकरण गर्न र अन्यत्र त्यस्तो घटना हुनबाट रोक्न समेत महासंघले आफ्ना सदस्यहरुसंग समन्वय गरी सजगता अपनाएको उल्लेख गर्नु हुंदै बेला बखत घट्न सक्ने अप्रिय घटना प्रति संघहरु सदा सचेत हुनु पर्ने बताउनु भयो ।
आफ्नो जिल्लाको औद्योगिक व्यवसायिक लगायतको आर्थिक समाजिक विकासमा यस्ता भ्रमणबाट महत्वपूर्ण योगदान पुग्ने हुंदा महासंघले त्यसका लागि प्रोत्साहित गर्दै आएको पनि उहांले बताउनु भयो ।
महासंघका समिति सभापतिहरु डि.बी. बस्नेत तथा लोक विक्रम थापाको र सल्यान उवासंघका अध्यक्ष कृष्ण सिंहको समेत उक्त कार्यक्रममा उपस्थिति थियो ।
कार्यक्रममा संघका अध्यक्ष् एवं प्रतिनिधिमण्डलका नेता मानन्धरले भ्रमणको उद्देश्य र उपलव्धि सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।
उक्त प्रतिनिधिमण्डलमा संघका अन्य पदाधिकारी एवं सल्लाहकारहरु तथा कार्यकारिणी समितिका सदस्यहरुको सहभागिता थियो ।