देशमा दीगो र स्थायी शान्ति स्थापनाका साथै अनुकूल औद्योगिक व्यवसायिक वातावरण कायम गरी समग्र आर्थिक सामाजिक विकासलाई गति दिन संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु पर्ने र यसका लागि सबै क्षेत्रको सक्रिय सहयोग आवश्यक भएकोमा जोड दिंदै पर्वत उद्योग वाणिज्य संघको २५ औं वाषिर्क साधारण सभा हिजो कुश्मा बजारमा सम्पन्न भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका तृतीय उपाध्यक्ष आजाद श्रेष्ठले सो सभाको उद्घाटन गर्नु हुंदै जनआन्दोलन-२ पछि नेपालको उद्योग वाणिज्य क्षेत्रको विकासमा आशाको लहर देखिएता पनि पछिल्लो समयमा संविधानसभाको निर्वाचनको अनिश्चितताले पुनः निराशा थपेको बताउनु भयो । देशमा दीगो र स्थायी शान्ति स्थापनाका साथै उद्योग व्यापार लगायत समग्र विकासका लागि संविधानसभाको निर्वाचन सफल बनाउनु पर्ने र त्यसका लागि उद्योगी व्यवसायी पनि सक्रिय भएर लाग्नु पर्ने धारणा उहांले व्यक्त गर्नु भयो ।
द्वन्दको समयमा विस्थापित भई सदरमुकाममा सरेका बैंकहरु अहिलेसम्म पनि गाउं गाउंमा स्थानान्तरण हुन नसकेकोमा दुःख व्यक्त गर्नु हुंदै उपाध्यक्ष श्रेष्ठले यस्ता बैंकहरु खुलाउन महासंघबाट पहल भई रहेको जानकारी गराउनु भयो ।
"एक गाउं एक उत्पादन" को कार्यक्रमलाई मुर्त रुप दिन महासंघले उल्लेख्य भूमिका खेलिरहेको र पर्वतमा पनि कुन कुन स्थानमा कस्ता कस्ता उद्योग सञ्चालनमा ल्याउन सकिन्छ भन्ने वारे सम्भाव्यता अध्ययन गर्न सके महासंघले त्यसको विकासका लागि सहयोग गर्न सक्ने जानकारी दिनु भयो । साथै उहांले महासंघद्वारा सरकारसंगको साझेदारीमा सञ्चालित इलम प्रशिक्षण केन्द्रलाई छिट्टै चौधै अञ्चलमा पुर्याइने र धवलागिरी अञ्चलको पर्वतमा सो केन्द्र स्थापना गर्न आफूले पहल गर्ने आश्वासन पनि दिनु भयो ।
देशमा हाल स्थानीय निकाय समेत नभएकोले सबै उद्योगी व्यवसायीले नेतृत्वदायी भूमिका खेल्नु पर्ने आवश्यकता औल्याउनु हुंदै यस्तो अवस्थामा व्यवसायिक हकहित मात्र नहेरी जनताको सेवाका क्षेत्रमा पनि उत्तिकै जिम्मेवार भएर काम गर्नु पर्ने आवश्यकता उहंले औंल्याउनु भयो ।
कार्यक्रममा पर्वत जिल्ला अदालतका न्यायाधिश करुणानिधि शर्माले उद्योग व्यवसाय भनेको समाजको रोजगारी बृद्धि गर्ने स्थान भएकोले सबै जनताको विश्वास जितेर उद्योग वाणिज्य क्षेत्रले काम गर्न सक्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।
प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बहादुर भण्डारीले पवर्तका सबै गा.वि.स. मा घरेलु तथा साना उद्योगको सम्भावना रहेको बताउनु हुंदै उत्तरी पर्वतमा अल्लोका कपडा तथा दक्षिणको फलामखानीमा फलामको धाउ उत्खनन गर्न सकिने भएपनि अहिलेसम्म हुन नसकेकोले संघको पहलमा काम थालिए त्यस्ता उद्योगको विकासमा धेरैले सहयोग गर्ने धारणा व्यक्त गर्नु भयो ।
विभिन्न राजनीतिक दलका जिल्ला स्तरीय पदाधिकारी एवं प्रतिनिधिहरुका साथै विभिन्न जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष/पदाधिकारीहरुले मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष मिनप्रसाद श्रेष्ठले संघको वाषिर्क प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । संघका प्रथम उपाध्यक्ष लेखनाथ शर्माले धन्यवाद ज्ञापन गर्नु भएको उक्त कार्यक्रमको सञ्चालन महासचिब प्रकाश कर्माचार्यले गर्नु भएको थियो