नेपाल र जनवादी गणतन्त्र चीन बीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई अझ बिस्तार गर्न निजी क्षेत्रको तर्फबाट भएका प्रयासमा कुटनीतिक तहबाट समेत सक्रिय पहल हुनुपर्ने क्रुरामा जोड दिइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरु एवं जनवादी गणतन्त्र चीनका लागि नवनियुक्त नेपाली राजदुत टंक कार्की बीच आज महासंघको सचिवालयमा भएको भेटका अवसरमा सो कुरामा जोड दिइएको हो ।
सो भेटघाटमा अल्पविकसित छिमेकी मुलुक नेपालको उत्पादनलाई नेपालद्वारा प्रस्तुत सुझाव अनुसार चिनियां बजारमा रियायती प्रवेश, चिनियां रेलमार्गको नेपालको सिमानासम्म विस्तार, हवाई तथा सडक सर्म्पर्क विस्तार, नेपालका सम्भाव्य क्षेत्रमा चिनियां लगानी तथा प्रविधि प्रवाह एवं पांचखाल र नुवाकोटमा निर्यात प्रशोधन क्षेत्र स्थापना, रसुवागढी-स्याफ्रुवेशी सडक शीघ्र निर्माण आदि विषयलाई छिटोभन्दा छिटो अगाडी बढाउन कुटनीतिक तवरबाट तिब्रता दिनुपर्नेमा जोड दिइएको थियो ।
त्यसैगरी चिनियां वजार लगायत दक्षिण एशियाली बजारकै आवश्यकता अनुरुपका वस्तु नेपालमा उत्पादन गरी निर्यात गर्न दुवै देशका सरकारद्वारा चिनियां उद्यमी व्यवसायीहरुलाई प्रोत्साहित गर्नुपर्ने, नेपाललाई अन्तराष्ट्रिय व्यापार तथा सेवा व्यवसाय केन्द्रका रुपमा विकास गर्न चीनिया सहयोग महत्वपूर्ण हुने, नेपाली वस्तु चीनको तिव्वत तर्फनिकासीका लागि प्रोत्साहित गरिनुका साथै सडकमार्ग र भंसार नाकाको पूर्वाधार सुधार एवं अझ विकास गर्नुपर्नेमा पनि सो अवसरमा जोड दिइएको थियो ।
भेटका अवरमा राजदुत कार्कीको स्वागत गर्नुहुदै महासंघका प्रथम उपाध्यक्ष गोल्छाले दुई देश बीचको आर्थिक तथा व्यावसायिक सम्वन्ध विस्तार, प्रविधि आदान प्रदान, संयुक्त लगानी, पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था क्रमशः नेपाल उद्योग वाणिज्य महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघ (ACFIC) मार्फत पनि थुप्रै कार्यहरु भैरहेको जानकारी गराउनु भयो ।
उक्त बैठकमा महासंघका द्वितीय उपाध्यक्ष एवं नेपाल चीन गैर सरकारी सहयोग मंचका संयोजक कुशकुमार जोशीले विशेष गरी जलस्रोत, पर्यटन, कृषि उद्यम, उत्पादनमुलक उद्योग, खनिज तथा बनजन्य निर्यातमुलक उद्योग, बैंक तथा वित्त जस्ता क्षेत्रमा संयुक्त लगानी प्रवर्द्धनको लागि प्रशस्त संभावना भएको उल्लेख गर्नुहुंदै महासंघले चीनसंगको सम्बन्धलाई अझ विस्तार गरी त्यसवाट अधिकतम लाभ उठाउने प्रयास गर्दै आएको बताउनु भयो ।
सो अवसरमा नव नियुक्त राजदुत कार्कीले नेपाल र चीन बीचको कूटनीतिक लगायत आर्थिक तथा व्यवसायिक सम्बन्ध विस्तारमा निजी क्षेत्रले गरेको अपेक्षा अनुरुप आफ्नो तर्फबाट सक्रियता पूर्वक कार्यहुने विश्वास दिलाउनुहुदै सो क्रममा महासंघको सहयोगको अपेक्षा पनि गर्नु भयो ।
उक्त बैठकमा महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पदेन उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति रविन्द्र श्रेष्ठ र महानिर्देशक मेघनाथ न्यौपानेको उपस्थिति रहेको थियो ।