विवाहको मौसम शुरु हुनै लाग्दा पोखराका महिलाहरु विवाहमा चाहिने परम्परागत सामग्री सनाउने तालीममा जुटेका छन् । विवाहमा चाहिने सामग्री सजाउने तालीमको चांजोपांजो नेपाल उद्योग वाणिज्य महासंघ, पोखरा उद्योग वाणिज्य संघ र जर्मन सहयोगी संस्था एचडब्लुके माइन्जले संयुक्त रुपले मिलाएका हुन ।
आजैबाट शुरु भएको उक्त तालीममा महिलाहरुले दुलाहा-दुलहीले लगाउने दुवोको माला, जन्त जांदा कोटमा सिउरिने फूल, साइपाटा लांदा चाहिने सामग्री, नरिवल सजाउने तरिका, मसलाको पोका, कागजको उपहार बाकस लगायतका सामग्री बनाउन सिक्ने छन् । परम्परागत रुपले विवाहमा चाहिने सामग्रीको व्यवसायिक उत्पादनमा सरिक गर्राई महिलालाई आत्म निर्भर र व्यवसायिक बनाउन तालीमको आयोजना गरिएको हो ।
महिलाहरुले उत्पादन गर्ने यी सामग्रीको बजार मूल्य पांच रुपैयां देखि २ हजार भन्दा बढी पर्ने र यसमा प्रयोग हुने कच्चा पदार्थ स्वदेशमै उत्पादन हुने गरेको छ ।
तालीमको उद्घाटन अवसरमा प्रमुख अतिथि पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेले आफ्ना उत्पादनको प्रयोग गर्ने बानी बसालेमा मात्र हामीले कल्पना गरेको नयां नेपालले साकार रुप लिने बताउनु भयो । तालीमले विवाह र ब्रतबन्ध जस्ता धार्मिक कार्यमा स्वदेशी सामानको प्रयोगमा बृद्धि मात्र नगर्राई महिला उद्यमशीलताको विकास गराउने विश्वास समेत उहांले व्यक्त गर्नु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका तृतीय उपाध्यक्ष्ँ आजाद श्रेष्ठले महिलाहरुले गुणस्तरीय उत्पादन गर्न सके त्यसको बजार पोखरा मात्र नभएर काठमाडौं र अन्य मुलुकमा समेत हुन सक्ने भएकोले गुणस्तरीय उत्पादन गर्ने तर्फ लाग्न सहभागीहरुलाई आग्रह गर्नु भयो ।
साथै उहांले महासंघले स्थानीय श्रोत र साधनमा आधारित उद्योग व्यवसायको विकास विस्तार एवं उत्पादन र सेवा प्रबर्द्धनका लागि हर प्रकारले प्रोत्साहित गर्दै आएको उल्लेख गर्नु हुंदै यस प्रकारका कार्यक्रमहरु हरेक जिल्लामा गर्दै जानु पर्नेमा जोड दिनु भयो ।
महासंघको महिला उद्यमी विकास फोरमकी सभापति शान्ति चड्डाले नेपाली हस्तकला लगायतका मौलिक उत्पादनको बजार जोगाउनु चुनौतिपूर्णको बताउनु भयो । नेपाली महिलाहरुले तयार पारेका मौलिक उत्पादनहरुको नक्कलीकरण गर्ने कार्यबाट समस्या खडा भएको पनि उहांले बताउनु भयो ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दीपक श्रेष्ठले महिला उद्यमशीलताको विकास गर्न पोखरा उद्योग वाणिज्य संघले आउंदा दिनमा नैतिक र आर्थिक दुवै किसिमले सहयोग प्रदान गर्ने बचनबद्धता व्यक्त गर्नु भयो । उहांले तालीमबाट सिकेका कुरालाई व्यवसायिकरण गर्ने तर्फ लाग्न सहभागीहरुलाई आग्रह समेत गर्नु भयो ।
पोखरा उद्योग वाणिज्य संघका महासचिब कृष्णमोहन श्रेष्ठले सञ्चालन गर्नु भएको उक्त तालीमको उद्घाटन समारोहमा संघकी कार्य समिति सदस्य तथा महिला उद्यमी इकाई उपसमितिका संयोजक हिरा भट्टर्राईले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।