मजदूरले आफ्नो कामलाई भन्दा अधिकारलाई प्राथमिकतामा राख्नाले औद्योगिक तथा श्रम क्षेत्रमा समस्या देखिएको एक कार्यक्रममा सहभागि वक्ताहरुले तर्क गरेका छन् । उनीहरुले मजदूरलाई मानवीय ब्यवहार गर्न समेत रोजगारदातालाई आग्रह गरेका छन् । पोखरा उद्योग बाणिज्य संघ तथा नेपाल उद्योग बाणिज्य महासंघको आयोजना तथा पोखरा उद्योग बाणिज्य संघको जर्मन साझेदार संस्था एचडब्लुके माइन्ज जर्मनीको सहयोगमा पोखरामा हालै आयोजना भएको कानूनी सेवा संबन्धी अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले सो धारणा राखेका हुन् ।
नेपाल उद्योग बाणिज्य महासंघले हालै स्थापना गरेको कानूनी सेवा केन्द्र र त्यसले प्रदान गर्ने सेवा र सल्ल्ााह तथा श्रम बिवादको समाधान एवं औद्योगिक शान्ति स्थापनाको तरिकाबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि महासंघका तृतीय उपाध्यक्ष आजाद श्रेष्ठले देशमा बढ्दै गएको औद्योगिक तथा श्रम अशान्तिको निदानको लागि ब्यवसायीहरु स्वयं जागरुक हुनुपर्ने बताउनुभयो ।
आफ्ना जायज तथा नाजायज माग पूरा गराउन मजदूरहरु गैह्र कानूनी रुपले तालाबन्दीमा उत्रनु दुःखदायी भएको उल्लेख गर्नुभयो । मौजुदा श्रम ऐन अनुसार आधिकारिक ट्रेड युनियनसंग पटकपटक भएका वार्ता र सहमतिले निकासको बाटो पत्ता लगाए पनि ब्यवसायीहरु कति बेला आफ्नो ब्यवसायीक प्रतिष्ठान बन्द हुने हो भन्ने चिन्ताबाट मुक्त हुने वातावरण निर्माणमा सहयोग गर्न उहांले सबैसंग आग्रह गर्नुभयो ।
महासंघको रोजगारदाता परिषदका सभापति एवं पदेन उपाध्यक्ष रविन्द्र श्रेष्ठले ब्यवसायी र मजदूरको संबन्ध सुमुधुर हुनको लागि मजदूर तथा रोजगारदाता दुबैले कानूनी ब्यवस्थाबारे राम्रो जानकारी राख्नुपर्ने बताउनुभयो । उहांले श्रम संबन्धी समस्या समाधानको सबैभन्दा उत्तम बाटो रोजगारदाता र मजदूर बीचको असल संबन्ध नै हो भन्नुभयो । उहांले मजदूरहरुलाई मानवीय ब्यवहार गर्नु पर्ने र उनीहरुको सम्मान गर्न सकेमात्र ब्यावसायीक प्रतिष्ठानले सोचेजस्तो प्रतिफल निकाल्न सक्ने उल्लेख गर्नुभयो । समझदारीमा समस्या समाधान नभए कानूनी उपचार खोज्ने पद्धतिबारे जानकारी दिन महासंघले कानूनी सेवा केन्द्र स्थापना गरेको उहांले प्रष्ट पार्नुभयो ।
कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दीपक श्रेष्ठले उद्योग तथा ब्यवसायीक प्रतिष्ठानमा हुने श्रम समस्या समाधानको लागि ब्यवसायीक क्षेत्रबाट भएको पहलको सराहना गर्नुभयो । पोखरा उद्योग बाणिज्य संघले पोखरामा केही समय अघि देखिएका जटिलखाले श्रम समस्या निराकरणको लागि अपनाएको कार्य शैलीबारे जानकारी दिंदै ब्यवहारिक रुपले मात्र होइन कानूनी रुपले समेत समस्याको समाधान खोज्ने प्रक्रियाबारे ब्यवसायीहरु जानकार हुनु पर्ने बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा पोखराका ४० जनाभन्दा बढी उद्योगी र ब्यवसायीहरुको सहभागिता रहेको थियो । अन्तरक्रियामा सहभागिहरुले ब्यवसायीले कानूनी प्रक्रिया अपनाउंदा अवलम्बन गर्नु पर्ने तौर तरिका, कानून लत्याउने प्रवृत्ति बढ्दै गएको तीतो यथार्थता तथा बलपर्ूवक माग पूरा गराउने मजदूरको शैली लगायतका विषयमा आ-आफ्नो धारणा र जिज्ञासा राख्नुभएको थियो । उहांहरुले उठाएका सबाल र जिज्ञासाको नेउवामसंघको रोजगारदाता परिषदका सभापति रविन्द्र श्रेष्ठ, अधिवक्ता यज्ञमान शाक्य लगायतले उत्तर दिनुभएको थियो ।
अन्तरक्रियाको दोस्रो सत्रको अध्यक्षता पोखरा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष मानकाजी माकाजुले गर्नुभएको थियो भने संचालन संघका महासचिव कृष्णमोहन श्रेष्ठले गर्नुभएको थियो ।