देशमा बढ्दै गएको अपहरण, हत्या, लुटपाट जस्ता आपराधिक क्रियाकलापहरुप्रति नेपाल उद्योग वाणिज्य महासंघ अत्यन्त चिन्तित भएको छ । यसै क्रममा पर्सा चोर्नीस्थित शिवशक्ति आल्मुनियम प्रा.लि.का प्रवन्धक श्री बिनोदकुमार अग्रवाललाई आफनो कार्यस्थलबाट निवास तर्फजाने क्रममा हिजो सांझ केही अपरिचित हतियारधारी समूहले उद्योग हाताबाटै अपहरण गरेको घटनाप्रति महासंघ अत्यन्त गम्भीर भएको छ । महासंघ यस्ता कार्यको घोर निन्दा एवं भत्र्सना गर्दछ ।
आफ्नो पेशा व्यवसाय गरी आएका नागरिकलाई विनाकारण अपहरण गर्नु मानव अधिकारको घोर उल्लंघन भएकोले उद्योगी अग्रवाललाई तत्काल सकुशल मुक्त गर्न सम्बन्धित पक्षसंग आग्रह गर्दै यसका लागि पहल हुन नेपाल सरकार तथा सम्बन्धित निकायसंग महासंघ जोडदार अपिल गर्दछ । साथै जस्तो सुकै कठिन अवस्थामा पनि उद्योग व्यवसाय गरी मुलुकको आवश्यकता परिपूर्ति गर्ने उद्योगी व्यवसायीलाई शान्ति सुरक्षाको पूर्ण प्रत्याभुति दिई अपराधीलाई कानून बमोजिम कारवाही होस भन्ने पनि महासंघ सरकारसंग जोडदार आग्रह गर्दछ ।