»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















पोखरामा मंसिर २० देखि राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना हुने (२०६४/८/६)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालले क्षेत्रीय तथा केन्द्रीय स्तरमा समेत मेला महोत्सवको आयोजना गरि राष्ट्रको उद्योग व्यापार, पर्यटन, कृषि एवं सामाजिक र सांस्कृतिक लगायत समग्र अर्थतन्त्रको उत्थानमा साझेदारीको अवधारणा निकै सफल भएको बताउनु भएको छ ।

यही मंसिर २० देखि २९ गतेसम्म नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ, र पोखरा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा हुने राष्ट्रिय औद्योगिक व्यापार मेला-२०६४ का विषयमा विस्तृत जानकारी दिन आज महासंघको सचिवालयमा आयोजित पत्रकार सम्मेलनलाई संवोधन गर्नुहुंदै अध्यक्ष ढकालले प्रत्येक वर्षआयोजना हुने मेला महोत्सव सरकार र निजी क्षेत्र बीचको साझेदारीको सफल उदाहरण भएको प्रष्ट पार्नु भयो ।

मेला महोत्सव स्थानीय जनता माझ आर्थिक गतिविधि बढाउने, नयाँ उत्पादन तर्फक्रियाशिल हुने, नयाँ सम्भाव्यताको खोजी गर्ने, उत्पादित वस्तुहरुको वजार एवं गुणस्तर बढाउने प्रभावकारी माध्यम भएकोले महासंघले मेला महोत्सवलाई आफना गतिविधिहरु मध्येको सवैभन्दा महत्वपूर्ण एवं प्रभावकारी कार्यक्रमको रुपमा लिएर गएको पनि अध्यक्ष ढकालले बताउनु भयो ।

स्थानीय सम्भाव्यतालाई उजार गरी त्यसबाट आर्थिक उपार्जनको भरपर्दो स्रोत खोज्न मेला महोत्सव प्रभावकारी हुने दावी गर्दै उहांले पोखरामा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेला पश्चिमाञ्चल क्षेत्रको मात्र नभै सिंगो राष्ट्रकै उद्योग, व्यापार, पर्यटन, कृषि क्षेत्रको विकासमा कोषेढुंगा हुने विश्वास प्रकट गर्नुभयो ।

सो अवसरमा महासंघका तृतीय उपाध्यक्ष आजाद श्रेष्ठले स्थानीय जनतालाई आर्थिक क्रियाकलापमा संलग्न गराई उनीहरुको जीवनस्तरमा सुधार ल्याई राष्ट्रिय अर्थतन्त्रमा पनि टेवा पुर्‍याउने उद्देश्यले महासंघले औद्योगिक व्यापार मेलाका माध्यमको आयोजनालाई विगतदेखिनै निरन्तरता दिई आएको वताउनु भयो ।

उपाध्यक्ष श्रेष्ठले स्थानीय तहमा मेला महोत्सवको आयोजना गर्न महासंघका सदस्य जिल्ला उवासंघहरुले देखाएको सक्रियता र नेपाल सरकारको सहयोगप्रति महासंघ उत्साहित भएको पनि वताउनु भयो ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका मुख्य अधिकृत बद्रीबहादुर कार्कीले आर्थिक वर्ष२०५४/५५ देखि नेपाल सरकार व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले महासंघ र स्थानीय उद्योग वाणिज्य संघहरु र स्थानीय निकायहरुसंगको हातेमालोमा शुरु गरेको मेला महोत्सवहरुको आयोजनाले आझ व्यापकता पाई त्यसबाट राष्ट्रले ठूलो फाइदा पाएको वताउनु भयो । उहांले राष्ट्रिय औद्योगिक व्यापार मेला-२०६४ ले पनि राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण सघाउ पुर्‍याउने दावी गर्नु भयो ।

महासंघको मेला तथा प्रदर्शनी समितिका सभापति एजी शेर्पाले महासंघले जस्तो सुकै कठिन अवस्थामा पनि व्यापार मेलाको आयोजनालाई निरन्तरता दिएको बताउंदै राष्ट्रिय औद्योगिक व्यापार मेला पश्चिमाञ्चल क्षेत्रको उद्योग व्यापार, पर्यटन र कृषि क्षेत्रको विकास तथा थप सम्भाव्यताको खोजीमा महत्वपूर्ण प्लेटफर्म हुने बताउनु भयो ।

उक्त मेलाको मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य वैंकका वरिष्ठ अधिकृत प्रकाश ढुंगानाले पनि संवोधन गर्नुभएको सो पत्रकार सम्मेलनमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दीपक श्रेष्ठले मेलाको वारेमा विस्तृत जानकारी दिनु भएको थियो । उहाँले दिनु भएको जानकारीको विस्तृत विवरण यसै साथ संलग्न छ ।




राष्ट्रिय औद्योगिक ब्यापार मेला-२०६४, पोखरा
प्रेस विज्ञप्ती

नेपाल उद्योग बाणिज्य महासंघ एवं पोखरा उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा यही २०६४ मंसिर २० देखि २९ गतेसम्म पोखराको नयाँ बजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा राष्ट्रिय औद्योगिक ब्यापार मेला-२०६४ आयोजना गर्न लागेको ब्यहोरा पुनः स्मरण गराउन पाउँदा हामीलाई खुसी लागेको छ ।

मेला र महोत्सवको माध्यमबाट आर्थिक गतिविधी बढाउँदै समग्र देशको अर्थतन्त्रमा टेवा पुर्‍याउने उद्देश्यकासाथ मेला तथा महोत्सव अवधारणाको प्रवर्तकको रुपमा पोखरा उद्योग बाणिज्य संघले बनाएको छवी हामी सबै पोखरेलीको लागि गर्वको विषय हो भन्ने हामीलाई लागेको छ । संघले २०५२ सालमा आयोजना गरेको पोखरा महोत्सव नै संभवत नेपालमा औपचारिक रुपले महोत्सव आयोजना गर्ने इतिहासको पहिलो महोत्सव हो । त्यसपछिका वर्षरुमा पनि संघले मेला र प्रदर्शनीहरु आयोजना गर्ने कार्यलाई निरन्तरता प्रदान गर्दै आएको छ । देश सशस्त्र द्धन्द्धको चपेटामा परेको समयमा समेत मेला र महोत्सव आयोजना गरी नीजि क्षेत्रले आर्थिक अवस्था सन्तुलनको लागि खेलेको भूमिकासँग पोखरा उद्योग बाणिज्य संघको योगदानलाई समायोजन गर्दा हामी उत्साहित र गौरवान्वित हुनु स्वभाविक हो भन्ने हामीले ठानेका छौं ।

औद्योगिक ब्यापार मेला संघको गतिबिधीको निरन्तरताको पर्याय मात्र होइन, राष्ट्र र विशेष गरी पश्चिमाञ्चल क्षेत्रको आर्थिक, सामाजिक र साँस्कृतिक उत्थानको लागि चालिएको एक महत्वपूर्ण तथा चुनौतिपूर्ण‌ गतिविधी पनि हो ।

यही चुनौतिलाई जिम्मेबारी ठानेर हामीले औद्योगिक ब्यापार मेला-२०६४ लाई सफतलापूर्वक सम्पन्न गर्नका लागि हामी पूर्णरुपमा क्रियाशिल छौ । मेला उद्घाटनदेखि समापनसम्म पनि हाम्रो यो क्रियाशिलतामा कमी नआउने कुरामा हामी प्रतिवद्ध छौं । हामी यो अभियानमा सम्पूर्ण संचार जगतको पूर्ण सहयोगको अपेक्षा समेत गर्दछौं ।

मेला समुद्घाटनको शुभ क्षण आउन मात्र १४ दिन बाँकी रहँदा मेलाको तयारी द्रूत गतिमा अगाडि बढेको छ । मेला सम्पन्न गर्न नेपाल उद्योग बाणिज्य महासंघको मेला पर््रदर्शनी समितिका सभापति एजी शेर्पाको संयोजकत्वमा १ सय ५१ सदस्यीय मूल समारोह समिति र ३० जनाको सल्लाहकार समिति गठन भएको छ । त्यसैगरी मेला संबन्धी दैनिक काम रेखदेख गर्नकोलागि पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा २० सदस्यीय कार्य सम्पादन समिति तथा २१ वटा विभिन्न उपसमितिहरु गठन भएका छन् । कार्य सम्पादन तथा उपसमितिहरुले आ-आफ्नो कार्यलाई तदारुकताका साथ अगाडी बढाएका छन् । मेलामा रहने करीब ३ सय स्टलहरुको लागि बुकिङ शुरु भएको छ । हालसम्म १ सय भन्दा बढी स्टलहरुको बुकिङ सम्पन्न भई सकेको छ । मेलाको मूख्य प्रायोजकको समेत टुङ्गो लागेको छ । राष्ट्रिय बाणिज्य बैंकले मेलाको मूख्य प्रायोजन गरेको छ ।सह प्रायोजक र अन्य प्रायोजकहरुको लागि समेते बिभिन्न ब्यावसायीक प्रतिष्ठानहरुसँग प्रक्रिया अगाडी बढेको छ ।

मेलाको प्रचार/प्रसार तीव्र पारिएको छ । मेलाको तयारीको जानकारी २०६४ कार्तिक २१ गते पोखरामा पत्रकार सम्मेलन गरेर र्सार्वजनिक गरिसकिएको छ भने स्टल निर्माण,सुरक्षा, खानेपानी, शौचालय, मनोरञ्जनात्मक कार्यक्रम, बाल उद्यान,रेष्टुरेष्ट आदिका लागि आवश्यक संझौता र पूर्वाधारहरुको निर्माणको कार्य ७५ प्रतिशत सकिएको छ । मेलामा रहने २० वटाभन्दा बढी सूचना प्रविधीका स्टलहरुकोलागि डोमको ब्यवस्था गरिएको छ । अत्याधुनिक डोम निर्माणको क्रम शुरु भएको छ । पोखरालाई शिक्षा,स्वास्थ्य, पर्यटन र कृषिको सहरको रुपमा विकास गर्दै जाने संघको वर्षौ अगाडि गरेको परिकल्पनालाई साकार पार्न मेलामा सहभागि हुने कृषिजन्य उद्योग, महिला उद्यमी र कृषकहरुलाई विशेष सुविधा प्रदान गरिएको छ साथै यहाँका नागरिक र ब्यवसायीहरुलाई बाहिरी संसारसँग परिचित गराउन सूचना प्रविधी,औद्योगिक उत्पादन आदिलाई समेत मेलामा सहभागि गराइएको छ । पर्यटकीय नगरी पोखरामा पर्यटकीय सिजनमा नै आयोजना हुने मेलाले आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्ने अपेक्षा पोखरा उद्योग बाणिज्य संघको रहेको छ । मेला अवलोकन गर्न यो समयमा पोखरा आउने पर्यटकहरु पोखराको सुन्दर भू-धरातलीय लालीमा तथा ब्यापार मेलाको रौनकमा मन्त्रमुग्ध हुने हामीले ठानेका छौं । जारी पोखरा भ्रमण वर्ष२००७ को अवधारणालाई पनि मेलाले अवश्य सहयोग पुर्‍याउने नै छ । यहाँ एक हजार भन्दा बढीको संख्यामा रहेका होटलहरुका आठ हजारभन्दा बढी सुविधासम्पन्न बेडहरुमा पर्यटकहरुले आनन्ददायीरुपले रात विताउन सक्नेछन् । मेलाको समयमा पोखरा भ्रमणमा आउने आन्तरिक पर्यटकहरुको लागि भ्रमण,बर्साई तथा खानामा छुटको ब्यवस्थाको लागि पर्यटन ब्यवसायीहरुसँग समन्वयको पहल भई रहेको छ । मेलामा सहभागि ब्यवसायीको मागलाई ध्यानमा राखी मेलामा प्रत्येक दिन बिहान १० बजे देखि ११ बजेसम्मको समयलाई Business Hour को रुपमा छुट्याइएको छ । मेलामा करीब १२ करोडको आर्थिक कारोवार हुने र २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । बिहान १० बजेबाट शुरु भई साँझ ५:३० बजेसम्म चल्ने मेलामा प्रबेश गर्न चाहने विद्यार्थीको लागि १५ र अन्य आगन्तुकको लागि २५ रुपैंया टिकट दर कायम गरिएको छ।

मेलाबाट कूल आम्दानी ४५ लाख ७८ हजार ६ र ब्यय ३५ लाख ३२ हजार ४ सय ८५ हुने संघको प्रारम्भिक अनुमान रहेको छ । आम्दानीको श्रोत प्रायोजक, स्टल भाडा तथा प्रवेश टिकट रहेको जानकारी गराइन्छ । मेलाबाट बचत भएको रकमलाई पोखरा प्रदशनी स्थलको भौतिक निर्माण तथा अन्य सामाजिक कार्यमा खर्च गरिने छ । प्रदर्शनीस्थलको लागि संघले हालसम्म १३ लाखभन्दा बढी रकम खर्च गरिसकेको छ भने गत वर्षसम्पन्न औद्योगिक ब्यापार मेला - २०६३ बाट बचत भएको रकममध्ये २ लाख रुपैंया संघले कास्की जिल्लामा अत्यावश्यक देखिएको दमकल खरिदमा लगानी गर्न छुट्टयाईएको जानकारी गराउन चाहन्छौं ।

अन्त्यमा संचारकर्मी महानुभावहरुलबाट बिगतमा प्राप्त सहयोगप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि संघका गतिबिधीहरुलाई आ-आफ्नो संचार माध्यममा यथोचित स्थान प्रदान गरी सहयोग पुर्‍याईदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

दीपक श्रेष्ठ
अध्यक्ष
पोखरा उद्योग बाणिज्य संघ

मितिः ०६ मंसिर २०६४

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.