नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालले भौतिक पूर्वाधार भएका/नभएका सबै प्रकारका जिल्लाहरुमा नेपाल सरकार, सदस्य जिल्ला उद्योग वाणिज्य संघहरु र स्थानीय निकायहरुको समेत सक्रिय सहभागितामा व्यापार मेला महोत्सवको आयोजना मार्फत महासंघले स्थानीय आर्थिक गतिविधि विस्तारलाई तिब्रता दिएको बताउनु भएको छ ।
यही मंसिर २५ देखि आगामी पौष २ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा पहिलो पटक आयोजना हुन लागेको "सुर्खेत महोत्सव-२०६४ एवं मध्यपश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापारिक मेला"का विषयमा विस्तृत जानकारी दिन हिजो महासंघको सचिवालयमा आयोजित पत्रकार सम्मेलनलाई संवोधन गर्नुहुंदै अध्यक्ष ढकालले मेला महोत्सव प्रत्यक्ष रुपमा वस्तु तथा सेवा खरिद विक्रीका लागि भन्दा पनि स्थानीय सम्भाव्यताको खोजी, भएका उत्पादनहरुको प्रवर्द्धन, आर्थिक गतिविधिमा स्थानीय जनताहरुको प्रत्यक्ष सहभागीता जस्ता प्रमुख विषयहरुलाई ध्यान दिएर आयोजना गरिएको स्पष्ट पार्नुभयो ।
अध्यक्ष ढकालले भन्नुभयो- यस वर्षमात्र २२ वटा जति मेला महोत्सवहरु विभिन्न जिल्लाहरुमा आयोजना गर्ने कार्यक्रम रहेको छ । यी सबै मेला महोत्सवको आयोजना स्थानीय आर्थिक गतिविधिलाई गतिशिल बनाउनु हो । आर्थिक विकासका दृष्टिले ओझेलमा परेको मध्यपश्चिमाञ्चलको सुर्खेतमा पहिलो पटक आयोजना हुने यो मेला त्यस क्षेत्रको साना मझौला सबै प्रकारका उद्योग व्यापार, कृषि, पर्यटन क्षेत्रको प्रवर्द्धन तथा नयां सम्भाव्यताको खोजीमा महत्वपूर्ण हुनेछ ।
मेला महोत्सव स्थानीय जनता माझ आर्थिक गतिविधि बढाउने, नयां उत्पादन तर्फक्रियाशिल हुने, नयां सम्भाव्यताको खोजी गर्ने, उत्पादित वस्तुहरुको वजार एवं गुणस्तर बढाउने प्रभावकारी माध्यम भएकोले महासंघले मेला महोत्सवलाई आफना गतिविधिहरु मध्येको सबैभन्दा महत्वपूर्ण एवं प्रभावकारी कार्यक्रमको रुपमा अघि बढाएको पनि अध्यक्ष ढकालले बताउनु भयो ।
सो अवसरमा महासंघका तृतीय उपाध्यक्ष आजाद श्रेष्ठले विकासका हरेक दृष्टिकोणबाट पछाडी परेको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा आयोजना हुने सुर्खेत महोत्सव उद्योग, व्यापार, पर्यटन तथा कृषि क्षेत्रको विकासमा समेत कोषेढुंगा हुने विश्वास प्रकट गर्नुभयो । स्थानीय जनतालाई आर्थिक क्रियाकलापमा संलग्न गर्राई उनीहरुको जीवनस्तरमा सुधार ल्याई राष्ट्रिय अर्थतन्त्रमा पनि टेवा पुर्याउने उद्देश्यले महासंघले औद्योगिक व्यापार मेलाको आयोजनालाई विशेष प्राथमिकता दिएको स्पष्ट पार्नुभयो । साथै उहांले महासंघको यो अभियानमा नेपाल सरकार र महासंघका सदस्य जिल्ला उवासंघहरुको सहयोग अझ महत्वपूर्ण रहेको बताउनु भयो ।
महासंघको मेला तथा प्रदर्शनी समितिका सभापति एजी शेर्पाले मेला महोत्सवको आयोजनाबाट स्थानीय जनता तथा उद्यमी व्यवसायीहरु निकै उत्साहित हुनुको साथै स्थानीय क्षेत्रमा उद्यमशीलताको विस्तार हुदै गएको बताउनु भयो ।
महासंघका समिति सभापतिहरु डीवी बस्नेत, लोक विक्रम थापा र कामु महानिर्देशक मेघनाथ न्यौपानेको पनि उपस्थिति रहेको सो पत्रकार सम्मेलनमा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष र्सूयबहादुर खड्काले मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रिय सदरमुकाम र केन्द्रविन्दु भएर पनि राज्यबाट उपेक्षित बन्दै आइरहेको सुर्खेतमा पहिलोपटक आयोजना हुने महोत्सवले त्यस क्षेमा नयां आयाम थप्ने विश्वास प्रकट गर्नुभयो ।